लन्डन । इङ्ल्यान्ड र वेल्समा अब पहिलोपटक विवाह दर्ताको प्रमाणपत्रमा बुवाको मात्र नभइ आमाको नाम पनि समावेस गरिने भएको छ ।

विवाह दर्ता गराइने कानुनी प्रक्रियामा परिवर्तन ल्याइएसँगै यो नयाँ कदम लागु हुने बताइएको छ । होम अफिसका अनुसार यो नयाँ सुधार १८३७ पछिकै सबैभन्दा ठूलो प्रणालीगत बदलाव हो । मंगलबारदेखि नै कार्यान्वयन हुने यो नयाँ डिजिटल प्रणालीले विवाह दर्तालाई आधुनिकीकरण र सहज गराउनुका साथै सबै प्रक्रियालाई छोटो बनाउनमा पनि मद्दत गर्ने अपेक्षा गरिएको छ । यसरी आमाको नाम पनि पहिलोपटक प्रमाण पत्रमा लेखिनु वास्तवमै ऐतिहासिक भएको बताइएको छ । विवाहसम्बन्धी कानुन अन्तरगत, प्रमाणपत्रमा यसअघि सौतेनी भए पनि केबल पिताको नाम मात्र राखिने गरिन्थ्यो तर अब पहिलोपटक विवाहित जोडीका दुवै अभिभावकको नाम समावेस गरिनेछ ।

यसअघिका वर्षमा पनि यो प्रणालीमा सुधार ल्याउने प्रयास गरिएको थियो तर विभिन्न अवरोधका कारण स्वीकृत हुन सकेको थिएन । अब भने विवाह प्रमाण पत्र हार्ड–कपीमा नभइ डिजिटल डाटामा आधारित रहनेछ । यो नयाँ परिवर्तनले दर्ता प्रक्रियालाई २१ औँ शताब्दीमा ल्याउनुका साथै अबदेखि आफ्ना छोराछोरीको विवाहबाट कुनै अभिभावक अनुपस्थित हुनु नपर्ने मन्त्री केभिन फोस्टरले बताए । हाल इङ्ल्यान्डमा १५ जनासम्म अतिथि बोलाइ विवाह समारोह गर्न अनुमति दिइएको छ, जसमा सरकारद्वारा निर्देशित सुरक्षाका उपाय भने अपनाउनुपर्ने हुन्छ । आगामी २१ जुन देखि समारोहमा सहभागी हुनेहरुको सङ्ख्या सीमित गर्नुपर्ने छैन । -द गार्जियनबाट