लण्डनः यो साता भारतमा थप १० जनासहित ११ नेपालीको निधन भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

हालसम्म भारतमा मात्रै संक्रमणका कारण ज्यान गुमाउने नेपालीको संख्या ७१ पुगेको छ । यो सातामा साउदीमा पनि थप एक जनाको संक्रमणका कारणज्यान गएको हो । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिको शनिवार साँझसम्म तयार पारेको तथ्यांक अनुसार भारतसहित विश्वभर २१ मुलुकमा रहेका तीन सय ८२ जना नेपालीको कोभिड १९ का कारणले निधन भएको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार भारत रहेका २० हजारभन्दा बढी नेपालीलाई कोरोना संक्रमण भएको छ । तीमध्ये १७ हजारभन्दा बढी कोरोनामुक्त भएका छन् ।

अहिलेसम्म विश्वका ५४ मुलुकमा ८६ हजार ६ सय ७९ जना नेपालीमा कोरोना संक्रमण भएको छ भने तीमध्ये ८२ हजार १ सय ९७ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो साता मलेसिया, भारत, कुवेत, युएई, र साउदी अरेबियामा रहेका नेपालीमा थप कोरोना भाइरसको संक्रमण देखिएको छ । यसैबीच, नेपालमा हालसम्म तीन लाख ३६ हजार ३० जना संक्रमित पुगेकोमा ८४ दशमलव ५ प्रतिशत अर्थात २ लाख ८३ ९ सय ९४ जना संक्रमणमुक्त भएका छन् । संक्रमणका कारण आइतबार सांझसम्म तीन हजार तीन सय २५ जनाको निधन भएको छ ।

अध्यक्ष पन्तलाई कोरोना संक्रमण
यसैबीच, गैरआवासीय नेपाली संघका अध्यक्ष तथा’कोभिड १९’ उच्चस्तरिय समितिका संयोजक कुमार पन्तलाई कोरोना संक्रमण भएको छ । संघको सक्रियतामा निर्माण भएको गोर्खास्थित एनआरएनए नमुना बस्ति हस्तान्तरण, नेपालमा १० अर्ब लगानी लगायतको परियोजनालाई मूर्त रुप दिन विगत केही सातादेखि नेपाल भ्रमणमा रहेका पन्तलाई आइतबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । कोरोना भाइरस (कोभिड–१९) को लक्षण देखिएपछि पीसीआर परीक्षण गराउँदा ‘पोजेटिभ रिपोर्ट’ आएको हो । पन्तलाई कोरोना संक्रमणपछि अक्सिजनको कमी हुनुका साथै ज्वरो बढेको थियो । उनी अहिले होम आइसोलेसनमा रहेका छन् ।

सुझाव
नेपाल, भारतसहित विश्वका विभिन्न देशमा देखापरेको नयाँ प्रजातिको महामारी अत्याधिक संक्रामक खालको भएकोले विशेष सावधानी अपनाउन स्वास्थ्य समितिले अपिल गरेको छ । ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने, स्वाद र गन्ध हराउने, पखाला वा र बान्ता हुने, एकदम थकान हुने, निद्रा लागिरहने, छालामा बिमिरा आउने, आँखा रातो हुने लगायतका लक्षण देखा परेमा तत्काल पीसीआर परिक्षण गर्न समितिले सुझाएको छ । नयाँ भेरियन्टको कोरोना भएमा परिवारमा सबै संक्रमित हुने अवस्था रहेकोले कुनै लक्षण देखिएमा सेल्फ आइसोलेसनमा बस्न पनि समितिले अनुरोध गरेको छ ।

यस्तै, मधुमेह र उच्च रक्तचाप भएका मानिसहरूलाई संक्रमण भइहालेमा अवस्था गम्भीर हुनसक्ने भएकोले उनीहरुले आफ्नो स्वास्थ्य र औषधि सेवनमा विशेष ध्यान दिनुपर्छ । पोषणयक्त खानेकुरा खाने र शारीरिक व्यायामसमेत गर्नुपर्छ । संक्रमित व्यक्तिहरूले घरमा अक्सिजन नाप्ने मिटर राख्ने र बेलाबेलामा अक्सिजन नाप्नुपर्छ । अक्सिजन लेभल कम भए तुरुन्त स्वास्थ्य विज्ञसँग सल्लाह लिइहाल्न पनि समितिले सुझाएको छ ।