काठमाडौँः काठमाडौँका अस्पतालमा कोभिड–१९ का जटिल बिरामीलाई उपचार गर्न भेन्टिलेटर सहित सधन उपचार कक्ष (आईसीयू) श्ययाको चरम अभाव हुन थालेपछि उपत्यका बाहिरका अस्पतालमा ‘हवाई बेड लिफ्ट’ गरी बिरामी लैजानेक्रम जारी छ ।
कारोना महामारीको पहिलो चरणमा काठमाडौं उपत्यका बाहिरका बिरामीलाई ‘हवाई बेड लिफ्ट’ गरी उपचारार्थ यहाँ ल्याइने गरिन्थ्यो । यसक्रममा झापा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा आज अपराह्न काठमाडौँस्थित मनमोहन अस्पतालमा उपचारार्थ एक कोराना सङ्क्रमित बिरामीलाई थप उपचारार्थ हेलिकप्टर मार्फत ‘बेड सिफ्ट’ गरिएको छ । काठमाडौँका अस्पतालमा भेन्टिलेटर सहितको आईसीयू श्यया नपाएपछि झापा कमल गाउँपालिका वडा –५ का ३५ वर्षीय मदन पाठकलाई बीएण्डसी अस्पताल लगिएको बताइएको छ ।
यही वैशाख १५ गते पनि ह्याम्स अस्पतालबाट झापाकै कोरोना सङ्क्रमित नरप्रसाद उप्रेतीलाई भेन्टिलेटर सहित आइैसीयू अभाव भएपछि काठमाडौँबाट हवाई चार्टर मार्फत सो अस्पतालमा भर्ना गरिएको थियो छ । हाल उनको स्वास्थ्यमा सुधार भइरहेको बीएण्डसी अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिए । उनका अनुसार काठमाडौँका अस्पतालमा कोरानाका बिरामीका लागि भेन्टिलेटरसहित आईसीयूको अभाव भएपछि बिएण्डसीमा सम्पर्क गर्नेक्रम निरन्तर जारी छ । बीएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालसँग हाल ६५ भेन्टिलेटरसहित आईसीयू श्यया, विशेषज्ञ चिकित्सक र आधुनिक प्रयोगशाला छ । उनले भने, “ती मध्ये २५ भेन्टिलेटरसहित आईसीयू श्यया कोभिडका बिरामीलाई छुट्याएका छौँ । बिरामीको आवश्यककता अनुसार थप गर्दै जाने अस्पतालको नीति रहेको छ ।”
अस्पतालले कोभिड र अन्य बिरामीलाई उपचार गर्न अलग अलग भेन्टिलेटरसहित आईसीयू श्ययाको ब्लग सञ्चालनमा ल्याएको छ । विशेष गरी कोभिडका बिरामीलाई क्रिटिकल केयर र एनेस्थेसियाका वरिष्ठ चिकित्सक राजु श्रेष्ठ, फिजिसियन चिकित्सकद्वय लक्ष्मण ठाकुर र करण पोखरेल लगायतले सेवा प्रदान गरिरहेका छन् । प्रस्तावित बीएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दूर्गा प्रसाईँले कोभिड –१९ सङ्क्रमितका उपचारमा बीएण्डसी अस्पतालले उच्च प्राथमिताका साथ सेवा प्रदान गरिरहेको जानकारी दिए । उनले राज्यलाई आवश्यक परेमा कोरोनाका बिरामीलाई अस्पतालमा भएका सबै श्यया र भेन्टिलेटर सहितका आइसियू श्यया उपचार सेवामा लगाउन आफू तयार रहेको बताए ।
उनले भने, “विपद्का समयमा राज्यले के दियो र के गर्यो भन्दा पनि राज्यलाई के सहयोग गर्न सकिन्छ मुख्य कुरा हो , यस्तो अवस्थामा म टुलुटुलु हेरेर बस्न सक्दिन , आफूसँग भएका श्रोत र साधन प्रदान गर्न तयार छु ।”
मेडिकल केलेज सञ्चालनको तयारी
कलेजका प्राचार्य प्राडा उमेश शर्माका अनुसार मेडिकल कलेज सञ्चालनका लागि भौतिक, शैक्षिक जनशक्ति तथा अस्पतालका आवश्यक सबै पूर्वाधार तयारी अवस्थामा छन् । मेडिकल कलेज सञ्चालनका लागि कम्तीमा १६ बिघा जमीन, ३०० श्ययाको अस्पताल, उपकरण, अस्पतालमा दैनिक बिरामीको परीक्षण, शल्यक्रिया, पुस्तकालय, विभागीय जनशक्तिलगायत आवश्यक मानिन्छ । अहिले कलेजको २२ बिघा जमीन, यसमा बनेका भौतिक संरचना, पूर्वाञ्चल क्यान्सर अस्पताल र बिएण्डसी अस्पताल गरी कूल ९०० श्ययाको अस्पताल, अस्पतालमा दैनिक एक हजार ३०० भन्दाबढी बिरामीले अन्तरङ्ग तथा बहिरङ्ग सेवा, ३० देखि ४० शल्यक्रिया, ६०÷७० सङ्ख्यामा सिटीस्क्यान तथा ४० भन्दाबढी एमआरआई हुने गर्छ ।’
पूर्वक्षेत्रबाट उपचारका लागि भारत तथा काठमाडौँ जानुपर्ने अवस्था लगभग अन्त्य भएको छ । उनले भने, “३२ लाख जनसङ्ख्या भएका मेचीका लागि ती दुवै अस्पताल ‘रिफरल हस्पिटल’ बनेको छ । भारतीय उपचारका लागि अस्पतालमा आउनेक्रम बढ्दो छ ।” अस्पतालले पछिल्लो समय मुटु तथा मिर्गौला प्रत्यारोपणको तयारी गर्दैछ । प्राचार्य प्रा डा शर्माले भने, “हामी एमबिबिएस तहमा ३०० विद्यार्थी पढाउने क्षमतामा छौँ । हामी एमडी÷एमएससमेत पढाउन सक्छौँ ।” कलेजले सम्बन्धन पाउने वित्तिकै एकहजार ५०० स्थानीयबासीले रोजगारी र सरकारले रु ५० करोड भन्दा बार्षिक राजश्व समेत पाउने जनाइएको छ । -रासस