इटहरीः कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै विश्वका विभिन्न देशका साथै नेपालमा पनि संक्रमणको विस्तार बढ्न गई भयावह अवस्था उत्पन्न भएको भन्दै सुनसरीको धरान उपमहानगरपालिकाका नगर प्रमुख तिलक राईले कोरोनाको सङ्क्रमण विरुद्धमा सचेत र सजग रहन आम नगरवासीमा अपिल गरेका छन् ।

उपमहानगरकी उपमेयर मञ्जु भण्डारीसमेत कोरोना संक्रमित भई उपचाररत रहेको अवस्थामा मेयर राईले नगरवासीमा सतर्कता अपनाउन अनुरोध गरेका हुन् । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न तथा भीडभाडजन्य गतिविधि नगर्न जिल्ला प्रशासन कार्यालयका साथै उपमहानगरपालिका स्वयंले अपिल गरिरहेकै अवस्थामा उपमहानगरपालिकाभित्र रहेका सुकुम्बासी तथा बसोबास अव्यवस्थित रहेका नागरिकहरुको लगत संकलन कार्य भने जारी नै रहेको छ । उपमहानगरपालिकाकै अगुवाइमा वडा कार्यालयहरुबाट भइरहेको लगत संकलन कार्यमा स्वास्थ्य मापदण्डको पालनाको अवस्था दयनीय रहेको छ । न्यूनतम भौतिक दूरीसमेत कायम नगरी ठूलो संख्यामा मानिस भेला पारी सरकारीस्तरबाटै लगत संकलन भइरहँदा जिल्लामा जारी निषेधाज्ञा र उपमहानगरपालिका स्वयंको स्वास्थ्य मापदण्ड पालनाको अपिल निरर्थक सिद्ध भएको छ ।

indian vehicle in dharan.

धरान शहरभित्र दैनिक ठूलो संख्यामा कोरोना संक्रमित पुष्टि हुनुका साथै मानवीय क्षतिसमेत भइरहेकोमा संक्रमण नियन्त्रणका लागि झारो टार्ने औपचारिक अपिल जारी गर्नेबाहेक स्थानीय सरकारले कुनै ठोस काम गरेको छैन । सरकारकै अकर्मण्यताका कारण कर्मचारीहरु पनि ज्यानको जोखिम उठाएर भीडभाडमै फारम संकलन गर्न बाध्य भएका छन् । महामारी हटेपछि पनि गर्न सकिने काम महामारीकै बीचमा सक्ने स्थानीय सरकारको हठका कारण जनसमूहमा संक्रमणले विस्फोटक रुप लिन सक्ने खतरा रहेको छ । यद्यपि, धरान उपमहानगरपालिकाकै वडा नम्बर ८ मा भने कर्मचारीहरु डराएकै कारण लगत संकलन कार्य आजदेखि बन्द गरिएको वडासदस्य सावित्री परियारले जानकारी दिएकी छन् । निषेधाज्ञा अवधिमा धरान उपमहानगरपालिका क्षेत्रमा भारतीय नम्बरका सवारीसमेत उल्लेख्य संख्यामा गुडिरहेका देखिन्छन् । यसले सर्वसाधारणमा त्रास उत्पन्न गराएको छ ।