चिनियाँ कम्युनिस्ट पार्टीसँग प्रत्यक्ष आबद्ध एक अकाउन्टले सामाजिक संजालमा भारतको कोरोना संकटको मजाक उडाउने किसिमले पोस्ट गरेपछि विवादमा परेको छ ।

चिनियाँ सामाजिक संजाल वेइबोमा पोस्ट गरिएको एउटा तस्बिरमा, चीनमा रकेट लन्च भइरहेको र त्यसैको छेउमा भारततर्फ चाहिँ कोरोनाबाट मृत्यु भएकाहरुको जलाएर अन्तिम संस्कार गरिएको देखिन्छ ।

यसको तल लेखिएको छ: चीनमा बालिएको आगो र भारतमा बलिरहेको आगोको तुलना गर्नुपर्दा ’ । त्यसमा चीनको अन्तरिक्ष उपलब्धी जारी रहँदा भारत चाहिँ कोरोना नियन्त्रणमै संघर्षरत् रहेको भन्ने आशय दिन खोजिएको छ । त्यसकारण उक्त भनाइलाई अपमानजनक मानिएको हो जसलाई चीनको आधिकारिक कानुन कार्यन्वयन एजेन्सीको अकाउन्टले प्रकाशित गरेको थियो । वेइबोमा सो अकाउन्टका दशौँ लाख फलोअर छन् । यसपछि प्रयोगकर्ताहरुले सो पोस्ट सबैतिर शेयर गर्दै त्यसो भन्नु अनुचित भएको बताउँदै चीनले भारतका लागि सहानुभूति प्रकट गर्नुपर्ने सुझाव दिएका हुन् ।

यसबारे चीनको ग्लोबल टाइम्स मिडियाका प्रमुख कार्यकारी हु शिजिनले लेखेका छन्, “यस्तो बेलामा मानवता नै सबैभन्दा माथि हुनुपर्छ र भारतप्रति सहानुभूति प्रस्तुत गर्दै हामीले चिनियाँ समाजको नैतिक मूल्यमान्यतालाई स्थिर र उच्चतम राख्नुपर्छ । ” यसरी चिनियाँ राष्ट्रपति शि जिनपिङले भारतमा गम्भीर बन्दै गएको कोरोना संकटप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री मोदीलाई भावपूर्ण सन्देश पठाएको भोलिपल्ट नै वेइबोमा यस किसिमको पोस्ट देखा परेको छ । जिनपिङले भारतलाई आवश्यक जस्तोसुकै मद्दत प्रदान गर्न र पूर्ण सहकार्य गर्न इच्छुक रहेको बताएका थिए । दोस्रो लहरको कोरोना संक्रमणबाट गुज्रिरहेको भारतमा दिन प्रति दिन स्थिति भयावह बन्दै गएको छ । संक्रमण र मृत्युदर तिव्र गतिमा बढेको बढ्यै छ । अकिले एकै दिनमा ४ लाख भन्दा बढी नयाँ संक्रमित थपिने भारत विश्वकै पहिलो मुलुक बनेको छ । -बीबीसीबाट