इटहरीः मोरङको रतुवामाई नगरपालिका ९ स्थित आमबारी–उर्लाबारी सडकखण्डमा २ वटा मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

आज बिहान १०ः३० बजे उत्तरतर्फ गइरहेको प्र.१–०२–०४१ प. २६६४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको प्र.१–०२–०४४ प.२६०९ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो । सो दुर्घटनामा गम्भीर घाईते भएका २६६४ नम्बरको मोटरसाइकलका चालक रतुवामाई नगरपालिका ७ गडिझार का २७ वर्षीय ललित कट्वालको अरनिको अस्पताल उर्लाबारीमा बिहान १०ः४५ बजे उपचारको क्रममा मृत्यु भएको छ भने अर्को २६०९ नम्बरको मोटरसाइकलका चालक रंगेली नगरपालिका ५ का २१ वर्षीय मनजय ठाकुर र सोही मोटरसाइकलमा पछाडि सवार बेलबारी नगरपालिका ३ का ३० वर्षीय नवीन ठाकुर घाइते भई सोही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ । दुर्घटनामा परेका दुवै मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।