इटहरीः आज देशभर सात हजार दुई सय ११ जना कोरोना संक्रमितको पहिचान भएको छ ।
आज फेला परेका संक्रमितको संख्या हालसम्मकै सर्वाधिक रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएका १६ हजार सात सय ७० नमुनाको परीक्षणबाट सो संख्यामा संक्रमितको पहिचान भएको हो । आज गरिएको कोरोना परीक्षणमध्ये पीसीआर विधिबाट १६ हजार सात सय ७० र एन्टिजेन विधिबाट छ सय २३ परीक्षण सम्पन्न भएको मन्त्रालयको तथ्याङ्क छ । मन्त्रालयका अनुसार सात हजार एक सय ३७ संक्रमितको पहिचान पीसीआर परीक्षणबाट गरिएको हो भने ७४ जना एन्टिजेन परीक्षणबाट पत्ता लागेका हुन् । यससँगै हालसम्म देशभर तीन लाख ३६ हजार तीस जनामा कोरोना संक्रमण भइसकेको मन्त्रालयले जनाएको छ ।
यसैबीच, आज देशभर २७ जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन् । यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या देशभर तीन हजार तीन सय २५ पुगेको छ । आज देशभर एक हजार ६ सय १२ संक्रमित निको भएपछि निको हुने संक्रमितको संख्या दुई लाख ८३ हजार नौ सय ९४ पुगेको छ । हाल नेपालमा ४८ हजार सात सय ११ जनामा कोरोना संक्रमण सक्रिय रही उनीहरुको उपचार जारी रहेको मन्त्रालयले जानकारी दिएको छ ।