इटहरीः सुनसरीको कोसी गाउँपालिका वडा नम्बर ८ मा रहेको भन्टाबारी नाकामा सशस्त्र प्रहरी बलले आफ्नो सुरक्षा जाँचमा कडाइ गर्न थालेको छ ।
भारतको सुपौल जिल्लासँग खुल्ला सीमा जोडिएको यस नाकाबाट नेपाल प्रवेश गर्ने र भारत जानेलाई सशस्त्र प्रहरीले कडाइ गर्न थालेको हो । सुनसरीको ६२ किलोमिटर क्षेत्रफल भारतसँग खुल्ला रुपमा सीमा जोडिएको छ । अहिले सुनसरीका अन्य नाकालाई सरकारले बन्द गरेर यो नाकालाई मात्र वैधानिक रुपमा आवात जावात गर्न खुल्ला गरेको छ । यही एक नाकाबाट नेपाल प्रवेश गर्ने भएकाले अहिले यो नाकामा आवात जावात बाक्लिएको छ । सोही कुरालाई ध्यान दिएर सशस्त्रले आफ्नो सुरक्षा जाँचलाई कडा बनाएको हो ।
भारतमा कोरोना संक्रमण फैलिन सुरु गरेयता यो नाकाबाट नेपाल प्रवश गर्नेको संख्या दैनिका पाँच सयभन्दा माथि थियो । अहिले त्यो संख्या घटेर एक सय देखि डेढ सयको हाराहारीमा आइपुगेको छ । भारतको सुपौल जिल्लामा लाग्ने हाटबजारमा यस नाका आसपासका मानीसहरु जार्ने गर्थे । अहिले स्वदेश फर्किनेलाई मात्र नाकाबाट आवातजावात गर्न दिइएको सशस्त्र प्रहरी बल ४ नम्बर गुल्मका गुल्मापति तथा प्रहरी उपरीक्षक (एसपी) माधवप्रसाद पौडेलले जानकारी दिए । ‘नेपाल सरकारले निर्णय गरे बमोजिम हामीले सुनसरीको यो भन्टाबारी नाकाबाहेक अन्य ठाउँबाट आवतजावत गर्न रोक लगाएका छौँ’, प्रहरी उपरीक्षक पौडेलले भने, ‘यस नाकाबाट पनि दुवै देशका नागरिकलाई स्वदेश फर्कन मात्र दिएका छौँ ।’ उनका अनुसार यस नाकाबाट नेपाल प्रवेश गर्द नागरिकता अनिर्वाय गरिएको छ भने भारतीय नागरिकको हकमा आधार कार्ड अनिवार्य गरिएको छ ।
उनका अनुसार अहिले सुनसरीका विभिन्न ठाउँका सीमा क्षेत्रहरुमा पाँच सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ । कोरोनाको सुरुवाति समयमा नेपाल लुकिछिपी प्रवेश गर्नेको संख्या पनि अधिक रहेको थियो । तर, अहिले नेपाल सरकारले वैधानिक रुपमा नै यस नाकालाई आवतजावतका लागि तोकेकाले अहिले नेपालीहरु लुकिछिपी प्रवेश गर्ने अवस्था नरहेको उनको भनाइ छ । यस नाकामा नेपाल प्रवेश गर्नेलाई थर्मलगनबाट ज्वरो नापिन्छ । यदि उसमा कोरोना संक्रमणको लक्षण देखिएमा तुरुन्तै एन्टिजेन्ट परीक्षण गरिने भन्टाबारी नाकामा हरेको हेल्थ डेस्कमा रहेका स्वास्थ्यकर्मीहरु बताउँछन् । यस नाकाबाट नेपाल प्रवेश गर्ने दुई जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको उनको भनाइ छ । उनीहरुको अवस्था सामान्य रही उपचार भइरहेको छ ।