इटहरीः साताको अन्तिम दिनको सेयर बजार पनि झिनो अङ्कले ओरालो लागेको छ । बजारमा हरियो र रातो पोतिने क्रम दिनभर चलिरह्यो । अन्ततः बजार बन्द हुने समयमा भने झण्डै आधा अङ्कले सूचक झरेर नेप्सेमा रातो पोतियो । सूचक ० दशमलव ४८ अङ्कले झरेर १२२० दशमलव ९८ अङ्कमा रोकिएको छ ।

कारोबार रकममा सुधार
बजारमा किन्ने र बेच्नेबीच लुकामारी चलिरहेकाले साताको अन्तिम दिनको सेयर कारोबारमा केही सुधार आएको छ । जम्मा १ सय ६० कम्पनीको ७ लाख ८२ हजार २९ कित्ता सेयर ४ हजार १ सय २९ पटक कारोबार हुँदा २४ करोड ६७ लाख ३० हजार ३ सय ६४ रुपैयाँको सेयर किनबेच भएको छ ।

६ समूहको सूचकमा रातो
जम्मा १० वटा समूहका सेयर किनबेच हुँदा ४ वटा समूह उकालो लागेका छन् भने ६ वटा समूहको सूचक तल झरेको छ । सबैभन्दा धेरै उत्पादनमूलक समूह ० दशमलव ५९ प्रतिशतले तल झर्दा सबैभन्दा कम बैंकिङ समूह ० दशमलव ०४ प्रतिशतले तल झरेको छ । बजार घटे पनि होटल समूहको सूचक सबैभन्दा धेरै ० दशमलव ५८ प्रतिशतले बढ्दा सबैभन्दा कम फाइनान्स समूहको सूचक ० दशमलव ०३ प्रतिशतले मात्रै बढेको छ ।

सानिमा बैंकको उच्च कारोबार
गत आर्थिक वर्षको लाभांश घोषणा गर्ने पहिलो बैंक सानिमा बैंक भएको छ । सो बैंकले १४ प्रतिशत नगद लाभांश दिने जनाएपछि सो बैंकको सेयरको धेरै कारोबार भएको हो । नगद लाभांशलाई नरुचाएपछि सो कम्पनीको सेयरमूल्य ५ प्रतिशतले तल झरेको थियो । तर बिस्तारै बिक्रेता कम हुँदै गएपछि २ दशमलव ४० प्रतिशतले मात्रै सेयरमूल्यमा गिरावट आएको थियो ।
सानिमा बैंकको २ करोड ६० लाख ४४ हजार २ सय १८ रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कम्पनीको १ करोड ७२ लाख २६ हजार ३ सय ३७ रुपैयाँको सेयर किनबेच भएको थियो । जम्मा ५ वटा कम्पनीको मात्रै १ करोडभन्दा बढीको सेयर कारोबार हुँदा एनआइसी एशिया बैंकको १ करोड २७ लाख ७५ हजार २ सय ७७ रुपैयाँको सेयर बिक्री भएको थियो ।

सानिमाको धेरै कित्ता कारोबार
सेयर सङ्ख्याका आधारमा पनि बिहीबार सानिमा बैंक अघि देखिएको छ । सानिमाको ७९ हजार ९ सय ४५ कित्ता सेयर कारोबार हुँदा माछापुच्छ«े बैंकको ४६ हजार ८ सय ९९ कित्ता सेयर कारोबार भएको छ । प्रभु बैंकको ४४ हजार २ सय ५४ कित्ता सेयर किनबेच हुँदा अन्य कम्पनीको ४० हजार भन्दा कम कित्ता सेयर कारोबार भएको छ ।

कारोबार सङ्ख्यामा नेपाल सेवा अघि
बिहीबार नेपाल सेवा लघुवित्तको सबैभन्दा धेरै ५ सय ५ पटक कारोबार हुँदा कालिका पावर कम्पनी लिमिटेडको २ सय ५० पटक कारोबार भएको छ । सानिमा बैंकको २ सय २० पटक कारोबार हुँदा पञ्चकन्या माइ हाइड्रोपावरको १ सय ८७ पटक कारोबार भएको छ । अपि पावरको १ सय २७ पटक, माछापुच्छ«े बैंकको १ सय ११ पटक र मेघा बैंकको १ सय पटक कारोबार भएको छ । अन्य कम्पनीको सेयर १ सय पटकभन्दा कम कारोबार भएको छ ।

मञ्जुश्रीका लगानीकर्ताले धेरै कमाए
बिहीबार मञ्जुश्री फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ३ दशमलव ९४ प्रतिशतका दरले सम्पत्ति कमाएका छन् । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ३ दशमलव ५७ र पञ्चकन्यमा माइ हाइड्रोपावरका लगानीकर्ताले ३ दशमलव २३ तथा खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ३ दशमलव १६ प्रतिशतले सम्पत्ति कमाएका छन् । अन्य कम्पनीको ३ प्रतिशतभन्दा कम सेयरमूल्य बढेको छ ।

गुमाउनेमा अपि पावर
अपि पावरका लगानीकर्ताले सबैभन्दा धेरै ८ दशमलव ६३ प्रतिशतले सम्पत्ति गुमाउँदा नेपाल सेवा लघुवित्तका लगानीकर्ताले ७ दशमलव ६० र आइसीएफसी फाइनान्सका लगानीकर्ताले ३ दशमलव १८ प्रतिशतले सम्पत्ति गुमाएका छन् । बजार घटेसँगै समग्र बजार पूँजीकरण १४ खर्ब ५६ अर्ब कायम भएको छ ।