इटहरीः बुधबारको सेयर बजार पनि सुस्त देखिएको छ । बजार खुलेको केही समय झिनो अङ्क (आधा अङ्क)ले सुधार भएको बजारको सो सुधार आधा घण्टा पनि टिकेन । बिहान साढे ११ बजेसम्म हरियो देखिएको बजार त्यसपछि दिनभर राताम्मे भएर बन्द भएको छ ।

बजार २ दशमलव ९० अङ्कले घटेर १२२१ दशमलव ४६ अङकमा रोकिएको छ । समग्रमा बजार ० दशमलव २४ प्रतिशतले तल झरेको हो ।

१ सय ६४ कम्पनीको पौने १७ करोडको कारोबार
बुधबार जम्मा १ सय ६४ कम्पनीको सेयर किनबेच भएको छ । ६ लाख ८६ हजार १ सय १५ कित्ता सेयर ३ हजार ३ सय ३६ पटक किनबेच भएका थिए । जम्मा १६ करोड ७५ लाख ९९ हजार १ सय ९० रुपैयाँको सेयर किनबेच भएको थियो ।

कुनै पनि कम्पनीको कारोबार रकम १ करोड पुगेन
बुधबारको बजारमा कुनै पनि कम्पनीका लगानीकर्ताले १ करोड रुपैयाँको सेयर बेच्न सकेनन् । सबैभन्दा धेरै प्रभु बैंकको सेयर कारोबार भएको छ । सो बैंकको ९० लाख २१ हजार ८ सय ७ रुपैयाँको सेयर कारोबार भएको थियो । त्यस्तै, एनआइसी एशिया बैंकको ८७ लाख २७ हजार ६ सय ७९ रुपैयाँको र सिभिल बैंकको ६८ लाख ५ हजार ९ सय ९१ रुपैयाँको सेयर किनबेच भएको छ । धेरै कारोबार गर्ने १० कम्पनीमा ६ वटा बैंक, २ वटा बीमा, एउटा विकास बैंक र एउटा हाइड्रोपावर रहेका छन् ।

३ समूहको सूचकमा हरियाली
जम्मा १० वटा समूहको सेयर कारोबार भएकोमा ३ वटा समूहको सूचकमा मात्रै हरियाली छाएको छ । सबैभन्दा धेरै उत्पादनमूलक समूहको सूचकमा १ दशमलव ३५ प्रतिशतले सुधार आउँदा निर्जीवन बीमाको सूचकमा ० दशमलव ५४ र अन्य समूहको सूचकमा ० दशमलव ४१ प्रतिशतको सुधार आएको छ । त्यस्तै, जलविद्युत समूहको सूचक सबैभन्दा धेरै ० दशमलव ५६ प्रतिशतले नकारात्मक हुँदा बैंकिङ समूह र लघुवित्त समूहको सूचकमा समान ० दशमलव ५१ प्रतिशतको गिरावट आएको छ ।

मूल्य बढ्नेमा नेपाल सेवा लघुवित्त
अघिल्लो दिनको बजारमा झैं बुधबारको बजारमा पनि नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै ९ दशमलव ९० प्रतिशतले सम्पत्ति कमाएका छन् । वरुण हाइड्रोपावरका लगानीकर्ताले ५ दशमलव ९८ र ङादी ग्रुप पावरका लगानीकर्ताले ३ दशमलव ८ प्रतिशतले सम्पत्ति कमाएका छन् । १ सय ६४ वटा कम्पनीको सेयर कारोबार हुँदा ३७ वटा कम्पनीको मात्रै सेयरमूल्य बढेको छ ।

उच्च मूल्य घट्ने २ कम्पनीमा हाइड्रोपावर
बुधबारको बजारमा उच्च मूल्य घट्ने कम्पनीमध्ये प्रमुख २ कम्पनीमा हाइड्रोपावर कम्पनी परेका छन् । छ्याङ्दी हाइड्रोपावरको सबैभन्दा धेरै ४ दशमलव ३५ प्रतिशतले सेयरमूल्य घट्दा जलविद्युत लगानी तथा विकास कम्पनीका लगानीकर्ताले ३ दशमलव ७० प्रिितशतले सम्पत्ति गुमाएका छन् । ग्लोबल आइएमई समुन्नत स्किमका लगानीकर्ताले ३ दशमलव ६८ प्रतिशतले सम्पत्ति गुमाएका छन् ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण १४ खर्ब ५७ अर्बमा खुम्चिएको छ ।