काठमाडौँः ललितपुरको गोदावरीस्थित विशंखुनारायण सामुदायिक वनमा साहसिक खेल जिपलाइन सञ्चालनमा आएको छ ।
पर्यापर्यटन व्यवसायी राजकुमार श्रेष्ठले उक्त सामुदायिक वनभित्र साहसिक खेल जिपलाइन सञ्चालनमा ल्याएका हुन् । ललितपुरको सातदोबाटोबाट करिब सात किलोमिटरको दूरीमा रहेको विशंखुनारायण वनभित्र जिपलाइन सञ्चालनमा ल्याइएपछि खेल खेल्न आउने आन्तरिक पर्यटकहरुको संख्या पनि बढेको छ । एकतर्फ ४०० मिटर र अर्कोतर्फ ४०० मिटर गरी कुल ८०० मिटर रहेको जिपलाइन खेल्नका लागि काठमाडौं, ललितपुर र भक्तपुरबाट पर्यटकहरु जाने गरेका छन् । जिपलाइन खेल्नका लागि फोटो–भिडियोसहित प्रतिव्यक्ति एक हजार ५०० रुपैयाँ शुल्क निर्धारण गरिए पनि अहिले छुट दिएर प्रतिव्यक्ति एक हजार ३०० रुपैयाँ लिइएको सञ्चालक श्रेष्ठले बताए । जिपलाइन अन्तर्राष्ट्रिय मापदण्डअनुसारको निर्माण भएकाले खेल खेल्न सुरक्षित रहेको पनि उनले बताए ।
जिपलाइन खेल्न आउने पर्यटकहरु पनि साहसिक खेल खेल्न पाउँदा निकै खुसी देखिएका छन् । उपत्यकाबाट नजिकै साहसिक खेल खेल्न पाउने ठाउँ नभएका बेला जिपलाइन सञ्चालनमा आउँदा यस क्षेत्रको पर्यटनमा समेत टेवा पुग्ने उनीहरुको भनाइ छ । नेपाल सरकारले प्रकाशित गरेको सामुदायिक वनमा पर्यापर्यटन कार्यविधि २०७५ को आधारमा नियम–कानुनअन्तर्गत रहेर सामुदायिक वनले आसयपत्र आह्वान गरेपछि बोलकबोलमार्फत ठाउँ लिइएको सञ्चालक श्रेष्ठले बताए । सामुदायिक वनलाई संरक्षण गर्ने, प्रकृतिलाई जोगाउने र वातावरणलाई नबिगारीकन साहसिक पर्यटनको विकास गर्ने किसिमले नै जिपलाइन सञ्चालनमा ल्याइएको उनको भनाइ छ । -बाह्रखरीबाट