इटहरीः सुनसरीको इटहरीमा फागुन १३ गतेदेखि एक नम्बर प्रदेशस्तरीय भेट्रान कप फुटबल प्रतियोगिता हुने भएको छ ।

आयोजक हाम्रो इटहरी भेट्रान क्लबले आज इटहरीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो । इटहरी ५ पचरुखीस्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा हुने प्रतियोगिता फागुन २२ गतेसम्म चल्ने आयोजक इटहरी भेट्रान फुटबल क्लबका अध्यक्ष मन्दीपकुमार राइले जानकारी दिए । प्रतियोगितामा झापा, मोरङ, सुनसरी, उदयपुर र धनकुटाका गरी १२ वटा टिमको सहभागिता रहने अध्यक्ष राइले बताए ।

१२ लाख रुपैयाँ खर्च हुने प्रतियोगितामा विजेता टिमले ५५ हजार रुपैयाँ र उपबिजेताले ३१ हजार रुपैयाँ पुरस्कार पाउने छन् । इटहरी उपमहानगरपालिकाको संयोजनमा हुने प्रतियोगिताको उद्घाटन र समापन इटहरी नगरपालिकाका नगरप्रमुख द्वारिकलाल चौधरीले गर्ने आयोजकले जनाएको छ ।