इटहरीः नेपाली कांग्रेसनिकट युवाहरुको भ्रातृ संगठन तरुण दलको इटहरी नगर उपसभापतिमा मनोज लिम्बूलाई मनोनित गरिएको विषयलाई लिएर आज इटहरीको मुख्य चौकमा तरुण दलका दुई खेमाका युवाहरुबीच झडप भएको छ ।
नेपाल तरुण दलका सुनसरी सभापति सिजन गुरुङ र इटहरी नगर सभापति विष्णु खत्री समर्थित समूहका युवाहरुबीच हानाहान भएको हो । नेपाली कांग्रेसको सुनसरी क्षेत्र नम्बर दुई ‘क’ द्वारा आयोजित विरोधसभामा झडप भएको हो । झडपमा परी तरुण दलसम्बद्ध पाँच जना युवाहरु घाइते भएका छन् । पुस १५ गते भएको लिम्बूको मनोनयन विवादित भएको थियो । लिम्बू संगठनको सदस्य नरहेको जिकिर गर्दै जिल्ला सभापति गुरुङले उनको मनोनयन खारेज गरिदिएपछि मनोनयन गर्ने नगर सभापति खत्री पक्षसँग विवाद बढेको थियो ।
दुवै पक्षले आफूले गरेको निर्णय सहि भएको दाबी गरेका छन् । गु्रुङ पक्षले तरुण दलको सदस्यता नलिएका लिम्बूको नियुक्ति विधानविपरीत भएको तर्क गरेको छ भने खत्री पक्षले जिल्ला सभापति गुरुङको पदावधि सकिएको जिकिर गर्दै उनको निर्णय मान्य नहुने अडान लिएको देखिन्छ ।