विराटनगर: तेह्रौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का विजेता खेलाडीलाई प्रदेश १ सरकारले सम्मान गरेको छ ।

पदक विजेता खेलाडीहरूको बैंक खातामै नगद पुरस्कार जम्मा गरिदिनुका साथै उपलब्ध खेलाडीहरूलाई सम्मान समेत गरेको हो ।

प्रदेश सरकारले गत मङ्सिरमा सम्पन्न खेलकुद प्रतियोगितामा प्रदेश नं. १ का एकल र टीम तर्फका स्वर्ण, रजत र कास्य पदक विजेताहरुलाई आज विराटनगरमा एक औपचारिक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो । सम्मानित हुनेमा एकल तर्फ स्र्वण पदक हाँसिल गर्ने ६, रजत पदक हाँसिल गर्ने ४ र कास्य पदक हाँसिल गर्ने १० गरि कुल २० जना खेलाडीहरु रहेका छन् ।

यस्तै टीमतर्फ स्वर्ण पदक विजेता १५, रजत पदक विजेता २२ र कास्य पदक विजेता ४१ जना गरि कुल ७८ जनालाई प्रमाणपत्र सहित सम्मान गरेको छ । पदक हाँसिल गर्ने १० जना खेलाडीहरु दोहोरिएकाले कुल सम्मानित हुने खेलाडीहरुको संख्या ८८ रहेको छ । प्रदेश सरकारले एकलतर्फ स्वर्ण, रजत र कास्य पदक विजेतालाई क्रमशः जनही रु। ३ लाख, २ लाख र १ लाखका दरले नगद पुरस्कारसहित सम्मान गरेको छ ।

त्यस्तै टीमतर्फ भने खेलाडी संख्याको आधारमा टीममा स्वर्ण पदक विजेता खेलाडीलाई बढीमा १ लाख र कम्तिमा ७५ हजार ५ सयका दरले नगद पुरस्कारसहित सम्मान गरेको छ । त्यसैगरि प्रदेश १ सरकारले टीमतर्फ नै रजत र कास्य पदक विजेता खेलाडीलाई खेलाडी संख्याको आधारमा टीममा रजत पदक विजेतालाई बढीमा १ लाख र कम्तिमा ६० हजार तथा कास्य पदक विजेतालाई बढीमा ५० हजार र कम्तिमा ४१ हजारका दरले नगद पुरस्कारसहित सम्मान गरेको छ ।

सम्मान र पुरस्कार प्राप्त गरेपछि खेलाडीहरूले प्रदेश सरकारले गरेको सम्मानबाट आफूहरूको खेल क्षेत्रमा हौसला बढेको बताए ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री शेरधन राईले खेलाडीहरूले देशको इज्जत, प्रतिष्ठा र सान बढाएको बताए ।

उनले भने, “प्रदेश १ लाई खेलकुद क्षेत्रको राजधानी बनाउने संकल्प प्रदेश सरकारले लिएको छ ।” उनले खेलकुद क्षेत्रलाई प्राथमिकताका आधारमा बजेटहरू विनियोजन गरेको समेत बताए । खेलाडीहरूलाई व्यावसायिक ढंगबाट अगाडि बढ्न समेत आग्रह गरे ।

उनले खेलाडीबाट सरकारले ठूलो आशा, भरोसा राखेको भन्दै खेलकुद क्षेत्र अब छायामा नपर्ने बताए । खेलकुद क्षेत्रमा राजनीतीकरण गर्न नहुने राईको भनाइ थियो । सामाजिक विकास मन्त्री जीवन घिमिरेले खेलकुदलाई पेसाका रूपमा लिनुपर्ने धारणा राखे ।

उनले भने, “साग पदक विजेता खेलाडीहरूका कारण प्रदेश सरकार गौरवान्वित भएको छ । खेलकुदलाई जीविकोपार्जनको माध्यमका रूपमा समेत लिनुपर्छ ।”