धरानः धरान स्थित एलाइनेट जिमको आयोजनामा भएको तेश्रो नेपाल राष्ट्रिय व्यापी शारिरीक सुगठन प्रतियोगिताको तेश्रो संस्करणको उपाधी ग्लालेक्सी फिट्नेसका खेलाडी उमेश राईले जितेका छन ।
प्रतियोगितामा ७५ प्लस केजी तौल समुहमा पहिलो बन्दै उनले ओभरअलबाट उपाधीमा कब्जा जमाएका हुन । उपाधी संगै उनले २ लाख ५० हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र हात पारे । शनिबार धरान स्थित सभागृहमा भएको प्रतियोगितामा फिट्नेस दाङ, रूपन्देहीका कृष्णप्रसाद श्रेष्ठ दोश्रो बन्दै १ लाख नगद हात पारे । श्रेष्ठ ७५ किलो तौल समुहमा प्रथम बनेका थिए । यता ७० किलोमा पहिलो बनेका बलभैरव जिम ललितपुरका विनोद सुनार तेश्रो बन्दै ५० हजार हात पारे । ६५ केजीबाट फिनिक्स फिटशालाका मनोज सुवेदी चौथो बन्दै ४० हजार, ५५ केजीबाट ड्याजल जिम विराटनगरका प्रविण राजवंशी पाँचौ बन्दै ३० हजार र ६० केजीबाट एरो फिट्नेस, दमका मदनकुमार योङहाङ छैठौ बन्दै २५ हजार हात पारे । उनिहरूले नगद संगै ट्रफि, मेडल र प्रमाणपत्र समेत प्राप्त गरेका छन् ।
प्रतियोगिताको व्यक्तिगत पुरस्कार अन्तर्गत मस्ट इम्प्रुभिङ खेलाडीको टाइटल भने ५५ केजीका प्रविण श्रेष्ठले हात पार्दै नगद ५ हजार सहित ट्रफी जिते । प्रतियोगितामा बेस्ट पोजर ६५ केजीका खेलाडी बिजेन्द्रमान श्रेष्ठले हात पारे भने ७५ प्लस केजीमा भिडेका खेलाडी सन्जु लामाले इम्प्रुभिङ बडी बिल्डरको टाइटल हात पारे । यस्तै ७५ केजीमा भिडेका सबैभन्दा कम उमेर १७ वर्षका खेलाडी विशाल पौडेललाई प्रोत्साहन स्वरूप प्रमाणपत्र प्रदान गरीएको थियो ।
तेश्रो नेपाल च्याम्पियनमा यस वर्ष संगै ग्लालेक्सी फिटनेस, झापाले लगातार तेश्रो पटक उपाधिमा कब्जा जमाउदै ह्याट्रिक गरेको छ । यस अघि २०७४ सालमा भएको पहिलो संस्करणमा रामबहादुर दाहाल र २०७५ को दोश्रो संस्करणमा ललित धामीले उपाधी चुमेका थिए । उनिहरू दुवै ग्यालेक्सीका खेलाडी हुन ।
विजेताहरूलाई एलाइनेट जिमका संचालक विक्रम लिम्बु, धरान उपमहानगरपालिकाका मेयर तिलक राई, एन्फाका प्रदेश १ अध्यक्ष किशोर राई, बराह ग्रुप धरानका प्रमुख प्रशासकिय अधिकृत गंगा कालिकोटे लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताको मुख्य निर्णायकमा शिवलाल श्रेष्ठ थिए । अन्य निर्णायकहरूमा अजय बज्राचार्य, राजेन्द्र तुलाधर, राजभगत प्रधानाङ्ग, रोशन महर्जन, हरी धिमाल, शिजार राजभण्डारी, शिव मुखिया र कबिरभगत प्रधानाङ्ग गरी ९ जना निर्णायक रहेका थिए ।
धरानका चारजनाले पाए निर्णायकको इजाजतपत्र
धरानको शभागृहमा शनिबार सम्पन्न तेश्रो नेपाल च्याम्पियनमा धरानका चारजनाले शारिरीक सुगठनको राष्ट्रिय निर्णायकको इजाजत पत्र पाएका छन । आईएफबिबीको निर्णायक इजाजतपत्र पाउनेमा रणबहादुर थेबे, पूर्ण तामाङ, केशव कपाली र सिता श्रेष्ठ रहेका छन ।
९ जना सम्मानित
प्रतियोगितालाई सम्पन्न गर्न सहयोग गर्ने दाताहरुलाई सम्मान गरीएको छ । सम्मानित हुनेमा सिंगक समाज हङकङका अध्यक्ष नानीचन्द्र सिंगक, जलजले तेह्रथुमका मिनादेवी सिंगक, आईएफबिबीका अन्तराष्ट्रिय निर्णायक अजय बज्राचार्य, शारिरीक सुगठनका राष्ट्रिय निर्णायक रणबहादुर थेबे र केशव कपाली, मि. धरान २०६८ दिनेश सिंगक, पाङमा समाज ताप्लेजुङका महासचिव मिलन पाङमा, फुटबलका राष्ट्रिय खेलाडी केन्द्र लिम्बु र छत्र लिम्बु रहेका थिए । उनिहरूलाई ताम्रापत्र र खादाले सम्मान गरीएको थियो ।