धरानः मोफसल कै प्रतिष्ठित फुटबल प्रतियोगिताको रुपमा रहेको २२ औ अन्तराष्ट्रिय बुढासुब्बा टुबोर्ग गोल्डकपको तेस्रो क्वाटर फाइनल खेलमा नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लब सेमिफाइनलमा प्रबेश गरेको छ ।
धरान फुटबल क्लबको आयोजनामा धरान १६ स्थित प्रस्तावित प्रादेशिक रंगशालामा सोमबार जारी फुट्बल प्रतियोगितामा मनाङले बेलबारी फुटबल क्लब लाई ४–० को अन्तर ले पराजित गर्दै अन्तिम चारमा प्रबेश गरेको छ । मनाङले उत्कृष्ट खेल प्रदर्शन गर्दै सेमिफाइनलमा युनाइटेड खर्साङ फुटबल क्लबसँगको भेट पक्का गरेको हो । प्रतियोगितामा मनाङका लागी दयानन्द सिंहले २ गोल गरे भने निशान लिम्बू र बिमल रानाले एक एक गोल गरे । पहिलो पटक बुढासुब्बा गोल्डकप खेलेको मुख्यमन्त्री लिगको उपविजेता बेलबारी फुटबल क्लबले रक्षात्मक खेलेको थियो ।
खेलमा मनाङका निशान लिम्बूले खेलको २४ औ मिनेटमा पहिलो गोल गरेका थिए, पहिलो हाफ कै ४३ औ मिनेट बिमल रानाले पुनः दोस्रो गोल गरेका थिए । खेल अवधिभर बेलबारी माथी हाबी रहेको मनाङले दोस्रो हाफ को ६ मिनेट मा दयानन्द सिंह ले तेस्रो गोल गरेका थिए भने उनैले २२ औ मिनेटमा चौथो गोल गर्दै ४–० को अन्तरले जिताउन सफल भएका थिए । खेलको म्यानअफ द म्याच मनाङका दयानन्द सिंह भए । उनले नगद १५ हजार सहित ट्रफि प्राप्त गरेका छन् । त्यस्तै खेलमा निशान लिम्बूले गरेको गोल उत्कृष्ट घोषित हुँदा उनले ५ हजार नगद पुरस्कार प्राप्त गरे ।
मंगलबार ए डिभिजन लिग विजेता मछिन्द्र क्लब काठमाण्डौं र भारतको सन्डे क्लब एफबिसी बिच अन्तिम क्वाटर फाइनल खेल हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख नगद पुरस्कार जित्नेछन् ।