सुनसरीः मोफसलकै प्रतिष्ठित अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकपको दोस्रो दिनको खेलमा विभागिय टिम नेपाल पुलिस क्लबले मेची नेत्रालय काकडभित्ता फुटबल क्लबलाई २ गोलको अन्तरले हराउँदै घर फर्काएको बनाएको छ ।
धरान १६ स्थित प्रस्तावित प्रादेशिक रंगशालामा आइतबार भएको खेलमा ३–१ गोलको अन्तरले हराउँदै नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको शुरुवात दुवै टिम प्रतिष्पर्धात्मक रुपमा रहेका थिए । खेल सुरु भएको दशौं मिनेटमै मेची नेत्रालयका सञ्जय धिमालले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, ४१ मिनेटमा पुलिसका सुमन सुवेदीले गोल गरी खेललाई बराबरीमा ल्याए । त्यसैगरी ४३ औं मिनेटमा जुमानु राईले थप एक गोल गरी पुलिसलाई अग्रता दिलाए । यसपछि मेची नेत्रालयले गोल फर्काउन कडा प्रयास गरेको थियो । तर, पुनः पुलिसकै जुमानुले ७७ औं मिनेटमा थप एक गोल गरी टिमलाई ३–१ गोलको अग्रता दिलाए ।
आजको खेलको बेष्ट गोल गर्ने खेलाडी पुलिसका सुमन सुवेदी घोषित भए । उनले पाँच हजार रुपैयाँ प्राप्त गरे । यसैगरी खेलको म्यान अफ दि म्याच पनि पुलिसकै जुमानु राई घोषित भए । उनले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
झापाका खेलाडीले वान भर्सेस वान राम्रो खेल्न नसकेको मेची नेत्रालय काँकडभित्ता फुटबल ट्रेनिङ सेन्टरका प्रशिक्षक मिन बहादुर बस्नेत बताउँछन् । झापालेनै पहिलो गोल गरेर खाता खोले पनि गोल फर्काउन नसक्नु दुःखद भएको उनले प्रतिक्रिया दिए । यता कावासोती गोल्डकपमा पनि खेलाडि बाडिनु परेकाले आशातित खेल प्रदर्शन हुन नसकेको नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापाको प्रतिक्रिया रहेको छ । उनले भने, ‘खेलाडी सबै सिनियर थिएनन्, भोला सिलवाल, जुमानु राई र सुमन सुवेदी तीन जना मात्रै सिनियर खेलाडी थिए, अरु जुनियर खेलाडी भए पनि गोल टाईममै फर्काउन सक्यौ । अर्को खेल सेमीफाईनलमा अझ राम्रो खेल खेल्नेछौ ।’
सोमबार मनाङ मस्र्याङदी क्लब काठमाडौं र बेलबारी फुटबल क्लब मोरङबीच हुने आयोजकले जनाएको छ ।