सोलुखुम्बु: तेस्रो मदन भण्डारी स्मृति कप प्रदेश स्तरीय भलिबल प्रतियोगितामा सोलुखुम्बु र सुनसरीलाई संयुक्त रुपमा विजेता घोषणा गरिएको छ । शनिबार फाइनल खेल चलिरहेको समयमा बर्षात भएपछि खेल प्रभावीत बनेको हो ।

सोलुखुम्बु र सुनसरी बीचको खेलमा २५–१५, २५–२३, १९–२५, २३–२५ र ५–५ को अवस्थामा पुगेपछि खेल स्थगीत गर्नु परेको स्पोर्टस एकेडेमी सोलुखुम्बुका अध्यक्ष दिपक राजभण्डारीले जानकारी दिए । सुरुका दुई सेट सोलुखुम्बुले जितेको थियो त्यस पछिका दुई सेटमा सुनसरीले जितेको थियो । अन्तिम सेटको खेल चलिरहेको र दुबै टोलिको ५–५ अंक भएको अवस्थामा असिना सहितको वर्षात भए पछि खेल अबरुद्ध भएको हो। भारी वर्षा भएका कारण पुनः खेल सञ्चालन गर्न सक्ने अवस्था नरहेकाले दुवै टोलिलाई संयुक्त विजेता बनाइएको हो । उक्त दुई टिमले बराबरी पुरस्कार पाउँनेछन् ।

नेकपा प्रदेश नम्बर १ का प्रमुख सचेतक बुद्धि कुमार राजभण्डारीले उपाधि विजेतालाई थप गरेको ५० हजार सहित ३ लाख नगद बराबर रुपमा वितरण गरिएको मदन भण्डारी स्पोर्ट एकेडेमि प्रदेश नम्बर १ का अध्यक्ष सागर थापाले जानकारी दिए । शनिबार नै भएको खेलमा भोजपुरलाई पराजित गरि झापाले तेस्रो स्थान हासिल गरेको छ । झापाले भोजपुरलाई २५–१३, २५–१८, २२–२५, २४–२६ र १५–९ को प्रतिस्पर्धात्मक सेटमा पराजित गरेको हो । तेस्रो भएको झापाले ५० हजार नगद पाउने छ भने भोजपुरले २५ हजार प्राप्त गर्ने छ । मदन भण्डारी स्पोर्ट एकेडेमिको आयोजनामा भएको प्रतियोगितामा प्रदेश नम्बर १ का १३ टोलिको सहभागिता रहेको थियो ।

कार्यक्रमको समापन सत्रलाई संबोधन गर्न प्रदेश एकका मुख्य मन्त्री सेरधन राई, भौतिक पुर्वधार विकास राज्य मन्त्री अम्बीर बाबु गुरुङ सोलुखुम्बु आएका थिए ।