धरानः विश्व शान्तिका लागि युद्धमा होमिएका गोर्खालीहरुको स्मृतिमा हङकङमा आयोजना हुँदै आएको गोर्खा ट्रेलब्लेजर यस वर्ष देखि धरानमा पनि हुने भएको छ ।
विश्व शान्ती स्थापनाको लागि शहिद भएका विर गोर्खालीहरु प्रति श्रद्धान्जली दिदै दोस्रो पुर्खा दिवसको अवसरमा धरानमा चैत्र २२ गते प्रथम गोर्खा ट्रेलब्लेजरको आयोजना गरिएको विहिबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । गोर्खा सेमिष्ट्रीज ट्रष्ट नेपालको आयोजनामा हुने ट्रेलब्लेजरमा देश तथा विदेशमा रहेका नेपालीहरु करिब ३ सय जनाको सहभागिता रहने जनाएको छ । ट्रष्टका अध्यक्ष महेन्द्र राइका अनुसार ट्रष्टको आयोजनामा हङकङमा मात्रै हुँदै आएको ट्रेलब्लेजर यस वर्ष देखि नेपालमा पनि संस्था दर्ता गरेर प्रतियोगिता आयोजना गर्न थालिएको हो । ट्रेलब्लेजर भन्नाले डाँडाहरुमा बनाइएको रुटमा दौड प्रतियोगिता हो । प्रतियोगिताका लागि धरान आसपासका डाँडाहरुमा रुट तयार गरिने राईले बताए । गोर्खाहरुको स्मृतिमा हुने भएकाले धरान २० मा रहेको गोर्खा स्मृति पार्क हुँदै करिब १२ देखि १५ किलोमिटरको रुट तयार गरिने उनको भनाई छ । महिला र पुरुष छुट्टा छुट्टै विधामा हुने प्रतियोगिताको विजेतालाई क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्रदान गरिने भएको छ । प्रतियोगितालाई सफल पार्न अन्तराष्ट्रिय म्याराथुन धाविका मिरा राइको पनि उपस्थिती रहने आयोजकले जनाएको छ । पुर्खा दिवसको अवसरमा ट्रेलब्लेजर सहित कविता गोष्ठ, सांगितिक कार्यक्रमहरु पनि आयोजना गरिने राईले बताए ।