सोलुखुम्बुः तेश्रो मदन स्मृति कप प्रदेश १ स्तरीय पुरुष भलिबल प्रतियोगिता सोलुखुम्बुमा मंगलबारबाट शुरु भएको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमी १ नम्बर प्रदेश कमिटीको आयोजनामा शुरु भएको प्रतियोगितामा प्रदेश १ को १३ जिल्लाको सहभागिता रहेको छ ।

प्रतियोगिताको उद्घाटन सोलुखुम्बुका संघीय सांसद हेमकमार राई सुरवीर गरे । उद्घाटनका क्रममा सांसद राईले खेलकुदले देशलाई विश्वमा प्रचार गर्न सकिने भन्दै खेलकुदको विकासमा वर्तमान सरकार क्रियाशिल रहेको बताए ।

प्रदेश सांसद एवं नेकपा संसदीय दल प्रदेश १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले ले पर्यटनका माध्यमवाट विश्वमा परिचित सोलुखुम्बुलाई खेलका माध्यमवाट चिनाउन आफूहरु लागि परेको बताए ।

गाउँपालिका महासंघ प्रदेश १ का कोषाध्यक्ष एवं थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम थुलुङले पर्यटन र खेललाई सँगै अगाडी बढाउनु पर्ने आवश्यक्ता औल्याउए ।
एकेडेमीका प्रदेश १ अध्यक्ष सागर थापाले नेपाल पर्यटन बर्षलाई सघाउ पुर्याउँदै खेल क्षेत्रको विकासको लागि प्रतियोगिता आयोजना गरेको बताए ।

-mg-9206


पहिलो दिनको खेल नतिजा

प्रतियोगिताको पहिलो दिन ८ खेलहरु सम्पन्न भएकाछन् । लिगकम नक आउटका आधारमा खेलाइएको खेलमा मोरङ, ओखलढुंगा, झापा, सुनसरी, सोलुखुम्बु, धनकुटा, ओखलढुंगा र तेह्रथुमले विजयी शुरुवात गरेको छ ।

पहिलो खेलमा सोलुखुम्बुले भोजपुरलाई २५ — १७ र २५ — २० को सोझो सेटमा पराजित गर्यो । मोरङले खोटाङलाई २५ — १४, १२ — २५ र २५ — २० मा पराजित गर्दा ओखलढुंगाले तेह्रथुमलाई २५ — १८ र २५ — २३ मा पराजित गर्यो ।

यस्तै झापाले धनकुटालाई २५ — २० र २६ — २४ को सोझो सेटमा पराजित गर्दा पाँचथर सुनसरीसँग २५ — १९ र २५ — २२ ले पराजित भयो । यसैगरी धनकुटाले इलामलाई २१ — २५, २५ — १९ र २५ — १७ मा पराजित गर्यो ।

ओखलढुंगाले खोटाङलाई २५ — १८ र २५ — १४ मा पराजित गर्दा र मोरङ र तेह्रथुम बीचको प्रतिस्पर्धात्मक खेलमा तेह्रथुम १९ — २५, २५ — २१ र २५ — १५ ले विजयी भयो ।

सोलुखुम्बु सदरमुकामस्थित योङ्ग स्टार क्लवमा जारी प्रतियोगिता फागुण १० मा सम्पन्न हुनेछ । प्रतियोगिताको विजेताले क्रमशः १ लाख ५० हजार, एक लाख र पचास हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने टिमलाई नेकपा प्रदेश सभाका तर्फवाट थप ५० हजार नगद प्रदान गर्नेछ । सोको घोषणा प्रदेश सांसद बुद्धिकुमार राजभण्डारीले उद्घाटन शत्रमा गरेका हुन् ।उद्घाटनका क्रममा स्थानीय योङ् स्टार क्लव तथा नेवार समाज गुठीले साँस्कृतिक कार्यक्रममसमेत प्रस्तुत गरेको थियो । प्रतियोगितामा प्रदेश १ को ताप्लेजुङ जिल्लाको भने सहभागिता रहेको छैन ।

-mg-9247 -mg-9240