धरानः ११ औ राष्ट्रपती रनिङ सिल्ड प्रतियोगिताका लागि छनौट खेल आइतबार देखि शुरु भएको छ ।
धरान उपमहानगरपालिका स्तरिय राष्ट्रपती रनिङ सिल्ड प्रतियोगिताको छनौट खेलको उदघाटन आइतबार धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले धरान १७ स्थित एन्फा एकेडमीको खेलमैदानमा गरेका छन् । धरान नगर खेलकुद विकास समितीको आयोजनामा हुने प्रतियोगिता ७ गते सम्म संचालन हुनेछ ।
आयोजकका अनुसार प्रतियोगितामा हुने ६ वटा खेलमा भलिबल र एथलेटिक्स डिपो उच्च माविमा, कराते र तेक्वान्डो धरान १६ स्थित सेमि कर्भड हलमा र उसु र कबड्डी धरान ९ स्थित कर्भड हलमा हुनेछ । छनौट खेलको उदघाटन गर्दै धरानका मेयर तिलक राईले प्रतियोगितामा खेलाडी विद्यार्थीहरु जसरी सहभागी भएपनि यसलाई अवसरको रुपमा लिनका लागी आग्रह गरे । प्रतियोगिता गर्नका लागी सरकारबाट प्राप्त सानो बजेटमा धरान उपमहानगरपालिकाले केही बजेट थपेर यस प्रतियोगिताको आयोजना गरेको समेत उनले बताए । उनले भने, ’संघिय सरकारबाट प्राप्त न्युन बजेटमा नगरपालिकाले समेत केही बजेट थप गरी प्रतियोगिता आयोजना गरेका छौ, यस प्रतियोगिताले धरानलाई खेलकुदको राजधानी बजाउनका लागी समेत सहयोग पुग्नेमा हामी ढुक्क छौ ।’ प्रतियोगिताबाट उत्कृष्ट खेलाडी जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरमा पुग्ने भएकाले खेलाडिको सफलताले परिवार संगै समग्र धरानको गरीमा उच्च रहने बताउँदै सबै विद्यार्थी खेलाडीहरुलाई अनुशासित भएर उत्कृष्ट खेल प्रदर्शन गर्न समेत अनुरोध गरे ।
उदघाटनमा नेपाल स्काउट सुनसरीको संयोजकत्वमा धरानको विद्यालयका विधार्थीहरुले मार्च पास समेत प्रस्तुत गरेका थिए । धरानको पब्लिक उच्च मावि, किरातेश्वर मावि, शिक्षा सदन मावि, शारदा बालिका नमुना उच्च मावि, भानु स्मृति मावि, सैनिक आवासिय महाविद्यालय, सुनगाभा स्कुल, ज्ञानोदय मावि र सिद्धार्थ शिशु सदनले मार्च पास प्रस्तुत गरेका थिए ।
कार्यक्रममा शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख रत्नबहादुर कटुवाललले यस प्रतियोगिता पालिका स्तरमा धरानमा पहिलो पटक आयोजना गरीएको जनाउदै यस वर्ष समेत तयारी पुरा नभएको बताए । उनले भने, ’अघिल्लो वर्ष देखि नै पालिका स्तरमा आयोजना गरीनुपर्नेमा विविध कारणले गर्न सकिएन, यस वर्ष तयारी पुरा नभए पनि सुरुवात भने गर्ने जमर्को गरेका छौ ।’
धरान नगर खेलकुद विकास समितीका अध्यक्ष सुवास राईको अध्यक्षतामा सम्पन्न उदघाटनमा धरानका उपप्रमुख मञ्जु भण्डारी, १८ का वडाध्यक्ष प्रविण राई, एन्फा प्रदेश १ अध्यक्ष किशोर राई, शशस्त्रका डिएसपी राजेन्द्र श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमलाई धरान खेलकुद विकास समितीका सदस्य विकास चाम्लिङले संचालन गरेका थिए ।