बिराटनगर: नेपाल भ्रमण वर्ष– २०२० सफल बनाउन मदन भण्डारी स्पोर्टस् एकेडेमीले प्रदेश नं १ स्तरीय तेस्रो पुरुष भलिबल प्रतियोगिता सर्वोच्च शिखर ‘सगरमाथा’को काख सोलुखुम्बुमा गर्ने भएको छ । एकेडेमीका प्रदेश अध्यक्ष सागर थापाद्वारा मंगलबार बिराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यही फागुन ६ गतेदेखि १० गते सोलुखुम्बुको सल्लेरीमा प्रतियोगिता गर्ने जानकारी दिए ।

नेपाल कम्युनिष्ट पार्टी प्रदेश संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रतियोगिताले दुर्गम क्षेत्रमा लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउन बल पुग्नुका साथै आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रदेशका १४ जिल्लाका टिमलाई चार समूहमा विभाजन गरी लिग कम नकआउटको आधारमा खेल सञ्चालन गरिने एकेडेमीका सदस्य रोहित कोइरालाले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टिमलाई रु एक लाख ५१ हजार, द्धितीयलाई रु एक लाख र तृतीयलाई रु ५० हजार तथा सान्त्वना टिमलाई रु २५ हजार पुरस्कारका साथै ट्रफी प्रदान गरिने भएको छ । अन्य विधाका उत्कृट खेलाडीलाई रु १५ हजार र रु १० हजार पुरस्कार प्रदान गर्ने व्यवस्था रहेको छ । खेल सम्पन्न गर्न रु ४८ लाख एक हजार खर्च लाग्ने अनुमान छ । यसअघि पहिलो र दोस्रो संस्करण विराटनगर र धनकुटामा सम्पन्न भइसकेको छ ।