उदयपुरः उदयपुरको बेलका नगरपालिकामा सम्पन्न तेस्रो मेयर कप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ ले हात पारेको छ ।
लगातार तेस्रो पटक सम्म विजेता बन्दै वडा नम्बर ३ ले नगद ३ लाख रुपैया सहित पुरस्कार राशी ३५ हजार र ट्रफि प्राप्त गरेको छ । कप माघ ७ गतेबाट सुरु भएको थियो । तीन पटक सम्म विजेता बन्ने टिमले ३ लाख रुपैया नगद प्राप्त गर्ने ३ वर्ष अघि नै बेलका नगरपालिकाको मेयर दुर्गा कुमार थापाले घोषणा गरेका थिए ।
वडा नम्बर ४ को सुनाखरी क्लव मैदानमा भएको फाइनल खेलमा वडा नम्बर ३ ले वडा नम्बर ४ लाई शुन्य को विरुद्ध ३ गोलले जित हात पारेको थियो । दोस्रो बन्दै वडा नम्बर ४ ले २५ हजार नगद पुरस्कार सहित ट्रफि र मेडल प्राप्त गरेको छ । प्रतियोगितामा बेलका नगरपालिकामा ९ वटै वडाबाट सहभागिता रहेको थियो । प्रतियोगिताको बेस्ट किपर वडा नम्बर ३ का रामुमार मगर, बेस्ट डिफेन्डर ४ का यकेन्द राना, हाइ स्कोरर ४ कै सागर पाण्डे र बेस्ट प्लेयर ३ का बिकि मगर घोषित भए ।
कार्यक्रमकी अध्यक्ष नगरकी युवा तथा खेलकुद विकास समितिकि अध्यक्ष सीता राईले निरन्तर ३ पटक मेयर कप बिजेता तथा कपमा सहभागी सबैमा धन्यवाद व्यक्त गरीन् ।