धरानः र्याडीकल लाईट नेपाल प्रा.लि. धरानद्वारा आयोजित अन्तर प्लस टु स्तरिय वक्तृत्वकला प्रतियोगिता अन्तर्गत बिहिबार भएको दोश्रो चरणको प्रतिष्पर्धाबाट उत्कृष्ट १० जना छनोट भएका छन् । 
धरान उपमहानगर अन्तरका कलेजहरुको सहभागिता रहेको प्रतियोगिताबाट बिष्णु मेमोरियल मा.बि.का अभिनव खतिवडा, लियोन श्रेष्ठ, इच्छा बस्नेत, धरान आदर्स बोर्डिंग मा.बि.बाट ऋतिक दास, साहिल भुजेल, पब्लिक हाई स्कुलबाट स्वस्तिका धमला रहेका छन । त्यस्तै शारदा बालिका नमुना मा.बि. बाट सीता कडेल, एम्स एकेडेमीबाट नविना मग्राती र समिट मा.बि. बाट एलिसा धौलाकोटि र आशिष बिश्वकर्मा रहेका छन ।
धरान ९ स्थित होटल रत्न इनमा भएको प्रतियोगिताको निर्णायकहरुमा महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक राजेश बिद्रोही, बिग इभेन्ट नेपाल प्रा.लि.का अध्यक्ष एबम उद्घोषण तालिम प्रशिक्षक दोर्पध्वज राई र समता स्कुल इटहरीका शिक्षक जे.पी. काफ्ले रहेका थिए । 
दोश्रो चरणको प्रतियोगिताको शीर्षक ‘सामाजिक संजाल र युवा’ रहेको थियो । उत्कृष्ट १० बिद्यार्थीहरुलाई व्यक्तित्व, नेतृत्व विकास, खाना शिष्टाचार, लागु औषध सचेतना, साइबर क्राइम आदि सम्बन्धि तालिम दिइने अध्यक्ष कार्कीले जानकारी दिए । मंगलबार पहिलो चरणमा सहभागी २३ जना मध्येबाट उत्कृष्ट १५ जना छनोट भएका थिए । 
बिद्यार्थीहरुको वाक कला, व्यक्तित्व र नेतृत्व क्षमताको विकास गराउने उद्देश्यले प्रतियोगीताको आयोजना गरिएको प्रा.लि.का अध्यक्ष तिर्थ कार्कीले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष रत्न कटवालले प्रतियोगिताले बिद्यार्थीहरुको भबिष्य उज्जवल बनाउन सहयोग पुग्ने बताए । प्रतियोगिताको फाइनल प्रतियोगिता आगामी माघ १६ गते शहीद दिवसका अबसरमा हुने प्रा.लि.का अध्यक्ष कार्कीले जानकारी दिए ।
                    
        
        
                            
                                                            
        



















