इटहरीः नेपाली भाषाका ‘इन्साइक्लोपेडिया’ मानिने भाषाशास्त्री तथा साहित्यकार बालकृष्ण पोखरेलको निधन भएको छ । पोखरेलका चेला तथा नेपाल प्राज्ञ प्रतिष्ठानका प्राज्ञ सभा सदस्य विवश पोखरेलका अनुसार आज मध्यरात साढे १ बजे पोखरेलको निधन भएको हो ।

 मस्तिष्क घातबाट पीडित पोखरेलको विराटनगरको स्पार्क नेचुरोप्याथी एन्ड फिजियोथेरापी अस्पतालमा उपचार भएको थियो । उपचारपछि घरमा आराम गरिरहेका पोखरेललाई मध्यरात फेरि समस्या आएको थियो ।  उपचारको क्रममा नोबेल मेडिकल लाने क्रममै पोखरेलको मृत्यु भएको परिवार श्रोतले बताएको छ । । गत माघ ६ गते भारतको सिक्किमस्थित छोरीको घरमा गएका बेला माघ ६ गते मस्तिस्कघात भएका ८६ बर्षका पोखरेललाई सिक्किमकै नर्स बैंङ्गल न्यूरो सेन्टरमा भर्ना गरिएको थियो ।

‘बृहत् नेपाली शब्दकोश’, ‘ राष्ट्रभाषा’, ‘खस जातिको इतिहास’, ‘‘शौरी’ महाकाव्य, ‘पाँच सय वर्ष’ नामक भाषाको अनुसन्धान कृति प्रकाशन गरेका पोखरेललेका दर्जनौँ उपन्यास, कथा, नाटक र समालोचना जस्ता विभिन्न पाँच विधाका थुप्रै कृतिहरू प्रकाशित छन् ।

नेपाली, मगर, अङ्ग्रेजी, हिन्दी लगायतका भाषाका जानकार पोखरेलले मगर भाषामा पनि खोज गरेका थिए । ठेट नेपाली भाषाको प्रयोग हुनुपर्ने पक्षको झर्रोवादी आन्दोलनका अभियन्ता पोखरेलले विभिन्न उपनामहरूबाट ७० बढी उपन्यास लेखेका छन् । ‘वसन्त’, ‘बत्सल’, ‘बालकृष्ण रुपाखेती’, ‘केके मनुच्यो पोखरेल’, ‘गड्तिरे साइँला’ आदि नामबाट पोखरेलका उपन्यास  तथा कृतिहरू  प्रकाशित भएका छन् ।