एलिना अधिकारीमाथि कुटपिटको आरोपदेखि घटनालाई मिलाउन दबाब दिएको दाबीसम्म,  वडा कार्यालयको पत्र र उपमहानगरपालिकाको भूमिकामाथि पनि प्रश्न

इटहरीः  इटहरी उपमहानगरपालिका–९ की इन्जिनियर एलिना अधिकारीमाथि कार्यकक्षमै कुटपिट गरेको आरोप लागेका उपमहानगरपालिकाको योजना शाखामा कार्यरत इन्जिनियर भविन्द्र चौधरी पक्राउ परेका छन्। जिल्ला प्रशासन कार्यालय सुनसरीबाट पक्राउ पुर्जी जारी भएपछि फरार रहेका चौधरीलाई सोमबार दिउँसो इटहरीकै पेरिस गल्लीस्थित आफन्तको घरबाट पक्राउ गरिएको हो।

चौधरी पक्राउ परेसँगै अधिकारीमाथि भएको भनिएको कुटपिट, घटनापछि पीडित पक्षसँग गरिएको सम्पर्क, माफी मागिएको भनिएको ह्वाट्सएप संवाद, आरोपितका परिवारको प्रतिवाद र घटनालाई मिलाउन दबाब दिइएको भन्ने आरोपले नयाँ मोड लिएको छ।

यस घटनामा उपमहानगरपालिकाभित्रको प्रशासनिक व्यवहार, कर्मचारीको सरुवा र वडा कार्यालयबाट पठाइएको भनिएको पत्रको विषयसमेत प्रश्नको घेरामा परेको छ।

ह्वाट्सएपमा पटक–पटक माफी मागेको दाबी

पीडित पक्षका अनुसार पक्राउ पुर्जी जारी हुनुअघि नै चौधरीले एलिना अधिकारी र उनका श्रीमान् सुवास कट्टेललाई ह्वाट्सएपमार्फत पटक–पटक सन्देश पठाएका थिए।

ती सन्देशमा आफूले हात उठाउनु गल्ती भएको स्वीकार गर्दै एकपटकका लागि माफी दिन आग्रह गरिएको पीडित पक्षको भनाइ छ। चौधरीले ‘सरी’ शब्द पटक–पटक लेखेर माफी मागेको र सयौँ पटकसम्म ‘सरी’ लेखिएका सन्देश पठाएको दाबीसमेत गरिएको छ।

पीडित पक्षले यी सन्देशलाई घटनापछि चौधरीले गरेको व्यवहारसँग जोडेर हेरेको छ। अधिकारीमाथि हातपात नभएको र घटनालाई अतिरञ्जित बनाइएको भन्ने आरोपको प्रतिवाद गर्दै पीडित पक्षले चौधरी आफैँले माफी मागेको सन्देश पठाएको दाबी गरेको हो।

परिवारको प्रतिवादः  कुटपिट नभएको र मेडिकल रिपोर्टमाथि प्रश्न

चौधरी पक्राउ पुर्जी जारी भएपछि फरार रहेको अवधिमा उनका परिवारका सदस्यहरूले भने घटनाबारे फरक धारणा राख्दै आएको पीडित पक्षको भनाइ छ।

पीडित पक्षका अनुसार चौधरीका परिवारले एलिना अधिकारीमाथि कुनै उत्पीडन वा हातपात नभएको, घटनालाई अनावश्यक रूपमा बढाइएको र उपचारसम्बन्धी मेडिकल रिपोर्टसमेत नक्कली भएको दाबी गर्दै प्रतिवाद गरेका थिए।

WhatsApp Image 2026-10-27 at 13.55.18

यसरी एकातिर परिवारबाट घटना नभएको र प्रमाणमाथि प्रश्न उठाइएको भनिएको छ भने अर्कोतिर चौधरीले नै ह्वाट्सएपमार्फत आफूले हात उठाउनु गल्ती भएको भन्दै माफी मागेको सन्देश पठाएको पीडित पक्षको दाबी छ।

छलफलमा बोलाउँदा चौधरी आफैँ उपस्थित नभएको दाबी

पीडित पक्षका अनुसार पक्राउ पुर्जी जारी हुनुअघि नै घटनाबारे छलफल गर्न चौधरीलाई बोलाइएको थियो। तर उनी विभिन्न बहाना बनाएर सम्पर्कमा नआएको र आफू उपस्थित हुनुको सट्टा आफ्ना बुवालगायत आफन्तलाई छलफलमा पठाएको दाबी गरिएको छ। चौधरीका आफन्तले भने छलफलमा बोलाउँदा उनी बुबाको अप्रेशनका लागि अस्पताल भएको दावी गर्दै आएका छन् । 

पीडित पक्षले भने घटनामा आरोप लागेका चौधरी आफैँ छलफलमा उपस्थित हुनुपर्ने अडान राखेको बताइएको छ।

यसले घटनालाई संवाद र छलफलमार्फत टुंग्याउने प्रयास भएको थियो कि थिएन भन्ने प्रश्नसँगै आरोपित स्वयं किन उपस्थित भएनन् भन्ने विषय पनि उठाएको छ।

पक्राउ पुर्जी जारी भएपछि चौधरी फरार भएको र पछि आफन्तको घरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ परेको विवरणले घटनाको अनुसन्धानलाई थप महत्त्वपूर्ण बनाएको छ।

पक्राउ पुर्जीपछि फरार, ३५ दिन कटाएर प्रशासनमा उपस्थित हुने योजना 

चौधरीविरुद्ध गत असोज ५ गते जिल्ला प्रशासन कार्यालय सुनसरीबाट पक्राउ पुर्जी जारी भएको थियो। त्यसअघि गत भदौ २७ गते एलिना अधिकारीले आफूलाई कार्यकक्षमै गालीगलौज गर्दै कुटपिट गरिएको भन्दै इलाका प्रहरी कार्यालय इटहरीमा निवेदन दिएकी थिइन्।

पक्राउ पुर्जी जारी भएपछि चौधरी फरार भएको र केही समय काठमाडौंमा बसेर इटहरी फर्किएको स्रोतको दाबी छ। त्यसपछि उनी आफन्तको घरमा लुकिछि बसेका थिए । स्रोतका अनुसार पक्राउ पुर्जी जारी भएको ३५ दिन कटेपछि जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुने र कानुन व्यवसायीमार्फत धरौटीमा छुट्ने योजना चौधरीका आफन्तले बनाएका थिए । त्यसका लागि इलाका प्रहरी कार्यालय इटहरी र अधिवक्तासँग कुराकानी पनि गरिसकेका थिए ।  तर एलिनाका श्रीमान् सुवास कठेतको सूचनाका आधारमा पक्राउ पुर्जी जारी भएको ३५ दिन पुग्नुअघि नै चौधरीलाई पक्राउ गर्न इटहरी प्रहरी बाध्य भएको थियो । यसअघि इटहरी प्रहरीलाई पटक पटक पक्राउ नपरेको बिषयमा सोधीखोजी गर्दा हामी खोजी गर्दैछौंं भन्ने जवाफ मात्र आउने गरेको थियो । 

प्रहरीलाई चौधरीको अवस्थिति थाहा हुँदाहुँदै पक्राउ नगरिएको भन्ने आरोपसमेत उठेको छ। उपमहानगरपालिकाका केही जिम्मेवार व्यक्तिको संरक्षणमा उनलाई लुकाइएको र समय कटेपछि प्रशासनमा उपस्थित गराउने योजना बनाइएको भन्ने दाबी समेत स्रोतको छ । तर यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।


वडा कार्यालयको पत्रमाथि प्रश्नः  एउटा पत्र उपमहानगरपालिकामा, अर्को गोप्य राखिएको दाबी

घटनासँग जोडिएको अर्को महत्त्वपूर्ण विषय इटहरी उपमहानगरपालिका–९ को वडा कार्यालयबाट तयार पारिएको भनिएका दुईवटा पत्र र प्रतिवेदन हुन्।

प्राप्त विवरणअनुसार घटनाबारे उपमहानगरपालिकाले चासो राखेपछि वडा सचिव सुशीला कार्कीले दुईवटा पत्र तयार पारेको बताइएको छ। तीमध्ये एउटा पत्र इटहरी उपमहानगरपालिकामा पठाइएको र अर्को पत्र गोप्य राखिएको दाबी गरिएको छ।

उपमहानगरपालिकामा पठाइएको भनिएको पत्रमा चौधरीलाई अनुकूल हुने किसिमको विवरण उल्लेख गरिएको स्रोतको दाबी छ। 

उपप्रमुखमाथि दबाब दिएको आरोप

चौधरीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि पीडित अधिकारी र उनका श्रीमान् सुवास कट्टेललाई घटनाबारे छलफलका लागि बोलाइएको र मिल्न दबाब दिइएको पीडित पक्षको आरोप छ।

पीडित पक्षका अनुसार उपमहानगरपालिकाकी उपप्रमुख संगीता कुमारी चौधरीले उनीहरूलाई बोलाएर घटनाबारे छलफल गरेकी थिइन्। त्यस क्रममा घटनालाई मिलाउन दबाब सिर्जना गरिएको उनीहरूको भनाइ छ।

पीडित पक्षले उक्त दबाब अस्वीकार गर्दै कानुनबमोजिम कारबाही हुनुपर्ने माग राखेको बताइएको छ।

सरुवाको विषयले थपेको विवादइन्जिनियर अधिकारी र चौधरीबीचको विवादको पृष्ठभूमिमा योजना शाखा, ठेकेदारसँगको कारोबार र कर्मचारी सरुवासम्बन्धी विषयसमेत जोडिएको पीडित पक्षको दाबी छ।

अधिकारीका अनुसार चौधरीले केही ठेकेदारसँग रकम माग्ने क्रममा आफ्नो नामसमेत जोड्ने गरेको विषयमा आफूले प्रश्न उठाएकी थिइन्। आफूले नगरेको काममा आफ्नो नाम किन जोडिएको भन्दै आपत्ति जनाएपछि विवाद बढेको उनको भनाइ छ।

विवाद बढेपछि उपमहानगरपालिकाको प्रशासन शाखाका प्रमुख सञ्जीव खड्काको भूमिकामा अधिकारीको सरुवा गरिएको बताइएको छ। सुरुमा वडा नम्बर ३ मा सरुवा गरिएकी अधिकारी पछि वडा नम्बर ८ मा पुगेको विवरण प्राप्त भएको छ।

अधिकारीले वडा नम्बर ९ मा काम गर्दा सेवाग्राहीबाट कुनै गुनासो नआएको र आफूले जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको बताउँदै आएकी छन्।

इटहरी–९ का वडाध्यक्ष जितेन्द्र थापाले पनि अधिकारीको कामबारे आफूलाई कुनै गुनासो नआएको बताएका छन्। विद्यालय निर्माणसम्बन्धी काममा रकम मागिएको भन्ने जानकारी आएपछि भुक्तानी प्रक्रियामा कडाइ गर्न निर्देशन दिएको उनको भनाइ छ।

अस्पताल भर्नादेखि प्रहरीमा उजुरीसम्म

पीडित अधिकारीका अनुसार गत भदौ २७ गते कार्यालयमा काम गरिरहेका बेला चौधरीले गालीगलौज गर्दै आफूमाथि कुटपिट गरेका थिए। घटनापछि उनी दुई दिन अस्पतालमा भर्ना भएकी थिइन्।

उपचारपछि उनले सम्बन्धित कागजातसहित इलाका प्रहरी कार्यालय इटहरीमा निवेदन दिएकी थिइन्। सोही घटनामा अनुसन्धान अघि बढ्दै जिल्ला प्रशासन कार्यालय सुनसरीबाट असोज ५ गते पक्राउ पुर्जी जारी भएको थियो ।

पीडितको मागः कानुनअनुसार कारबाही होस्

एलिना अधिकारीले आफूमाथि भएको घटनामा कानुनबमोजिम कारबाही हुनुपर्ने माग राख्दै आएकी छन्। घटनालाई आपसी सहमतिका नाममा टुंग्याउनेभन्दा पनि कानुनी प्रक्रियाबाट न्याय पाउनुपर्ने उनको अडान रहेको बताइएको छ।

चौधरी पक्राउ परेपछि उनलाई छुटाउन वा घटना मिलाउन भन्दै केही व्यक्ति प्रहरी कार्यालय पुगेको दाबीसमेत सार्वजनिक भएको छ। 

यस घटनाले स्थानीय तहमा कार्यरत महिला कर्मचारीको कार्यस्थल सुरक्षा, कार्यालयभित्रको विवाद समाधान प्रक्रिया र प्रशासनिक निर्णयको पारदर्शिताबारे पनि प्रश्न उठाएको छ।

अन्ततः चौधरीमाथि लागेको आरोपको निरूपण प्रमाण र कानुनी प्रक्रियाबाट हुनुपर्छ। त्यस्तै, पीडित पक्षको भनाइ, परिवारको प्रतिवाद, वडा कार्यालयका पत्र र उपमहानगरपालिकाको भूमिकासम्बन्धी प्रश्नको निष्पक्ष छानबिन आवश्यक छ।