काठमाण्डौंः मनाङ मस्र्याङ्दी क्लबले किट प्रायोजकको रुपमा नेपाली ब्राण्ड केटीएम सिटीसँग प्रायोजन सम्झौता नविकरण गरेको छ । 

आसन्न शहीद स्मारक ए डिभिजन लिग खेल्ने तयारीमा रहेको क्लबले शेर्पा आउटडोरको केटीएम सिटीसँग दुई वर्षका लागि सम्झौता नविकरण गरेको हो । 

केटीएम सिटी गत वर्ष समेत मनाङ मस्र्याङ्दी क्लबको किट प्रायोजक रहेको थियो । आईतबार क्लबका महासचिव तेन्जिङ गुरुङ र केटीएम सिटीका सिईओ निमा नोर्बु शेर्पाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।  

यस सम्झौताको अवधि दुई वर्षको रहनेछ । क्लबलाई आवश्यक पर्ने सम्पुर्ण किट सामाग्री केटीएम सिटीले प्रायोजकको रुपमा उपलब्ध गराउनेछ । मनाङले आफ्ना सबै राष्ट्रिय तथा अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा केटीएम सिटीको किट प्रयोग गर्नेछ । नेपालको आफ्नै ब्राण्ड केटीएम सिटीसँग जोडिन पाउँदा क्लबले खुसी महशुस गरेको मनाङ मस्र्याङ्दी फुटबल क्लबका महासचिव तेन्जिङ गुरुङले बताए । गरेको छ । 

नेपाली फुटबलको सर्वाधिक सफल क्लबको रुपमा रहेको मनाङले आसन्न घरेलु फुटबललाई लिएर तयारी समेत अघि बढाएको महासचिव गुरुङले बताए ।