काठमाण्डौंः राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको उजुरी परेको छ । १८ वर्ष भन्दा कम उमेरकी बालिका करणी गरेको अभियोगमा लामिछानेविरुद्ध मंगलबार साँझ जिल्ला प्रहरी परिसर, काठमाडौंमा किटानी जाहेरी परेको नेपाल प्रहरीको एक उच्च अधिकारीले जानकारी दिए ।
१७ वर्षीया एक नाबालिगले आफूलाई सन्दीपले होटलमा लगी जबर्जस्ती करणी गरेको भन्दै जाहेरी दिएको प्रहरी उच्च स्रोतले जनायो । प्रहरीले मंगलबार नै ती किशोरीको मेडिकल जाँच पनि गराएको छ।
के हो घटना ?
प्रहरीले जाहेरी अनुसार दिएको जानकारीको आधारमा सन्दीप र जाहेरीकर्ता किशोरी प्रेमसम्बन्धमा भने थिएनन् । किशोरी सन्दीपको ठूलो फ्यान हुन् । उनीहरुको चिनजान सामाजिक सञ्जालमै भएको थियो । सन्दीपले स्न्यापच्याट ‘स्यान्डी ड्रिम्स’ नाममा चलाउँछन् । उनले ति किशोरीसँग सोहि आईडीमार्फत् कुरा गर्थे । अरुभन्दा भिन्न सुविधा स्न्यापच्याटमा के छ भने, म्यासेज सिन गर्नासाथ अटो डिलिट हुन्छ । त्यसैले पनि सन्दीपले किशोरीसँग इन्स्टाग्राम, फेसबुकबाट म्यासेज नगरी स्न्यापच्याटमार्फत् गर्दै आएका थिए ।
केन्या जानु अघिल्लो दिन भदौ ५ गते सन्दीपले नै किशोरीलाई ‘डेट’ का लागि अफर गरे । होस्टल बसेर अध्ययनरत ति किशोरीले केहीछिन बाहिर निस्कने, फोटो खिचेर फर्कने मनसायका साथ खुशीसाथ स्विकारिन् । त्यसपछि, सन्दीप आफै कार लिएर किशोरी लिन होस्टल अघि आए । सन्दीपले किशोरीलाई कारमा राखेर सिधै नगरकोट लगे । किशोरीको मोबाइलसमेत सन्दीपसँगै रहेकाले उनको साथीहरुसँग सम्पर्क हुन पाएन । किशोरीले फर्कन आग्रह गर्दा पनि सन्दीपले अटेर गरे ।
नगरकोटमा पुगेर सन्दीपले मद्यपान पनि गरेको किशोरीको जाहेरीमा उल्लेख रहेको प्रहरीको श्रोतले बताएको छ । किशोरीले फर्कने जिद्धी गरेपछि सन्दीप पुनः काठमाण्डौ फर्के । राति ११ बजिसकेकाले होस्टल बन्द भइसकेकाले होटलमा जाने प्रस्ताव सन्दीपले गरे । किशोरीले २ कोठा बुक गर्न भने । तर, सन्दीपले होटलवालासँग कुरा गरेको बहानामा एउटा कोठामात्र रहेको बताए । अरु विकल्प नभएपछि तिलगंगाको एक होटलमा सन्दीपसँगै किशोरी गइन् । त्यसपछि सन्दीपले आफूलाई समेत मापसे गराएर लठ्याई जबर्जस्ती करणी गरेको जाहरीमा किशोरीले उल्लेख गरेकी छन् ।
भोलिपल्ट सन्दीप गए र सोहि दिन केन्याका लागि प्रस्थान गरे । उनले किशोरीलाई सबै ठाउँबाट ब्लक गरेपछि किशोरी मानसिक रुपमा विक्षिप्त बनिन् । उनले आफूले ४ दिनपछि साथीलाई घटनाबारे बताएको र प्रहरीमा जाहेरी दिन सल्लाह मिलेकाले प्रहरीकहाँ पुगेको उल्लेख गरेकी छन् ।
कहाँ छन् त सन्दीप ?
सन्दीप यतिबेला नेपाल बाहिर छन् । हाल उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेस्ट ईण्डिजमा छन् । पूर्वी अफ्रिकी देश केन्यासँग टी–२० र एकदिवसीय क्रिकेट खेल्न राष्ट्रिय टोलीको नेतृत्व गर्दै भदौ ६ गते केन्या गएका सन्दीप टी–२० को पाँच म्याचको शृंखला खेलेपछि एक दिवसीय नखेली वेस्ट ईण्डिज गएका हुन् । पाँच म्याचको शृंखलामा उनको कप्तानीमा नेपालले ३–२ ले सिरिज जितेको छ ।
शुक्रबारदेखि सुरू एकदिवसीय नखेली क्लबमा पैसाका लागि खेल्न गएको भनेर उनको आलोचना भएको छ । गत सिजन भने ट्रिनबागो नाइटराइडर्समा अनुबन्ध भए पनि सन्दीपले राष्ट्रिय टिमको खेल भएका कारण सिपिएलमा कुनै पनि खेल खेलेका थिएनन् । सन्दीप पूर्वनिर्धारित तालिकाअनुसार नै केन्या भ्रमण छाडेर सिपिएल खेल्न वेष्टइन्डिज लागेको बताइएको छ । सन्दीपले सिपिएलमा जमैका तल्लाजावजबाट खेल्दैछन् । अब यो मुद्धाले असर पर्ने देखिएको छ ।
समाचार स्रोतका अनुसार सोमबार नै प्रहरीमा उजुरी दिने तयारी भएको थियो । तर, मंगलबार साँझ मात्र उजुरी परेको हो । बालिकाले आरोप लगाएको जबर्जस्ती करणीको घटना उनी केन्या जानुभन्दा अघिल्लो रातको हो ।