काठमाडौँः सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रको पुनरुत्थान र प्रवर्द्धनबारे काठमाडौँ उपत्यकामा रहेका महानगर र नगरपालिकाका प्रमुखहरुसँग छलफल गरेका छन् ।

मन्त्री श्रेष्ठले पर्यटनको सम्भावना, पुनरुत्थान, पर्यटन विकासका चुनौती र त्यसको समाधानका विषयमा महानगर र नगरपालिकाका प्रमुखहरुसँग छलफल गरेका हुन्  । पर्यटन विकासका लागि तीनै तहका सरकारबीच समन्वय र एकीकृत योजनासहित अघि बढ्नुपर्ने मन्त्री श्रेष्ठले बताए  ।  पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्ने मन्त्रालयको कार्ययोजना सुनाउँदै उपत्यकाका महानगर र नगरपालिकाको पनि सामूहिक प्रतिबद्धता आवश्यक रहेको भन्दै कार्ययोजनामा रहेको स्थानीय तहसँग समन्वयमा गरिने विषयहरुबारे जानकारी दिँदै सहकार्य गरी अघि बढ्नुपर्ने बताए ।

पर्यटन पुनरुत्थान कार्ययोजनाअन्तर्गत काठमाडौँ, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रिकालीन सम्पदा यात्राको सुरुवात गर्ने योजना छ । साथै विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भुनाथ मन्दिर र हनुमानढोका दरबार क्षेत्रलाई सम्पदा पदयात्रामा जोड्ने, पर्यटकीय यातायातलाई सहज बनाउन निजी क्षेत्रको सहकार्यमा ‘होप अन हप अफ’ सिटी बस सञ्चालनमा ल्याउने योजना रहेकोसमेत  मन्त्री श्रेष्ठले बताए ।

महत्वपूर्ण पर्यटकीयस्थलहरुमा राष्ट्रिय सरसफाइ अभियान सञ्चालन गर्न लागेको ,पर्यटन आगमन बिन्दुहरुमा शौचालय तथा विश्राम कक्ष निर्माण गर्ने, विमानस्थलदेखि उपात्यकामा मुख्य स्थानहरुमा विद्युतीय बस सञ्चालन गर्ने, उपत्यकाभित्रका मुख्य ऐतिहासिक सम्पदाहरु घुम्ने पर्यटकको सुविधाका लागि एकद्वार प्रणालीबाट प्रवेश अनुमति दिने, पर्यटक बसपार्क निर्माण गर्ने लगायत विषयमा छलफल भएको थियो ।

महानगर र नगरपालिकाका प्रमुखहरुले काठमाडौँ उपत्यकाको फोहोरमैला व्यवस्थापन, पूर्वाधारका रूपमा पुरातात्विक तथा साँस्कृतिक पदमार्ग निर्माण, साइकलिङ र अन्य पर्यटन पूर्वाधार निर्माणमा हुनसक्ने सहकार्यबारे धारणा राखेका थिए । सम्पदा र पर्यटकीय दृष्टिकोणले आफ्नो नगरपालिका क्षेत्रमा भएका सम्भावनाहरुबारे पनि जानकारी दिदै ंंपर्यटकीय क्षेत्रको संरक्षण, पूर्वाधार विकास र व्यवस्थापनमा साझा योजनासहित अघि बढ्नुपर्नेमा उनीहरुको जोड थियो ।

काठमाडौँ उपत्यकामा अनगिन्ति मूर्त, अर्मूत सँस्कृति र सम्पदाहरू रहेकोले त्यसको प्रवर्द्धनका लागि मन्त्रालयले स्थानीय सरकारहरुसँग समन्वय गरी अघि बढ्ने मन्त्री श्रेष्ठको भनाइ थियो । छलफलमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह, ललितपुर महानगरपालिका प्रमुख चीरिबाबु महर्जन, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन, टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी, दक्षिणकाली नगरपालिका प्रमुख मोहन बस्नेतलगायतको सहभागिता थियो ।