इटहरीः गायत्री कट्वाल भण्डारी इटहरीको व्यापार तथा वाणिज्य क्षेत्रमा अपरिचित नाम होइन । इटहरीकै व्यापारिक घरानामा जन्मिएर व्यापार र व्यवसायका क्षेत्रमा अथाह संघर्ष गरेकी गायत्री हिजोआज निकै व्यस्त छिन् ।
त्यसै पनि महिलाहरु संघर्षको पहाड बोकेर पनि बोझ मान्दैनन् । त्यस्तै साहसी महिलाको भीडमा पर्छिन् गायत्री पनि । गायत्रीका बुवाले सुरु गरेको गायत्री फेन्सी स्टोरदेखि अहिले लिएर आफैँले सञ्चालन गरिरहेको जी फोर कलेक्सनसँग जोडिएकी भण्डारी झट्ट सुन्दा इटहरी उद्योग वाणिज्य संघभन्दा ३ बर्ष जेठी हुन् । जेठी यो अर्थमा कि उनी २०४७ सालदेखि व्यवसायमा छिन् भने इटहरीको उद्योग वाणिज्य संघको स्थापना सोको तीन वर्षपछि अर्थात २०५० सालमा मात्र स्थापना भएको हो । देशभरका उद्योग वाणिज्य संघलाई निर्वाचनको चटारोले छोपरहँदा इटहरी उद्योग वाणिज्य संघमा पनि निर्वाचनको माहौल तात्दैछ । तिथिमिति नतोकिएपनि अब चाँडै निर्वाचन हुने पक्का हो । त्यसैले पनि गायत्रीलाई आजकल निकै व्यस्त बनाएको छ ।
२०६९÷०७० सालबाट उद्योग वाणिज्य संघमा सदस्यको रुपमा छिरेकी यी इटहरीकी छोरीलाई एक पटकभन्दा बढी हार्नुपरेको छैन । २०७३ सालमा अत्यधिक मत बदर हुँदा कार्यसमितिबाहिर बसेकी भण्डारी त्यसपछि लगातार कार्यसमितिमै रहेर उद्योगीव्यापारीको सेवामा जुटेकी छन् । इटहरी उद्योग वाणिज्य संघको इतिहास कोट्याउने हो भने अहिलेसम्म गायत्री बाहेकका महिलाले दोहोरिने मन गरेका छैनन् चाहे त्यो जुनसुकै कारण होस् । तर आफ्नो पेसा र व्यवसायलाई निरन्तरता दिँदै वाणिज्य संघको एक कुनामा बसेर सामाजिक सेवालाई पनि निरन्तरता दिने एक्ली चेली पनि हुन् भण्डारी ।
एकै ठाउँमा बसेर एकै प्रकारको व्यवसाय गर्नेहरु एकजुट हुनुपर्छ भनेर एक अर्काको समस्या बुझ्न गायत्रीले आफ्नै अध्यक्षतमा २०७४ सालमा इटहरीका रेडिमेड कपडा तथा जुत्ताचप्पल व्यवसायीलाई एकत्रित गर्ने काम गरिन् । संस्थापक भएर एक कार्यकाल निर्वाचित अध्यक्ष बनेकी गायत्रीले त्यति बेला प्रेरणा र हौसला दिने तत्कालीन उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष रोहित प्रसार्इँलाई बिर्सन सक्दिनन् । उद्योग र व्यापार क्षेत्रको लामो आरोहअवरोहलाई पार गर्दै आउँदै गरेको निर्वाचनमा इटहरी उद्योग वाणिज्य संघको नेतृत्वमा आफ्नो दाबी प्रस्तुत गर्ने गायत्री कटुवाल भण्डारी शुन्यबाट सिक्दै आएकी संघर्षशील नारी हुन् भन्दा अतिशयुक्ति नहोला ।
वर्तमान कार्यकालको कोषाध्यक्षको भूमिकामा रहेकी भण्डारी उद्योग वाणिज्य संघ इटहरीको इतिहासमै पहिलो पटक महिला नेतृत्वको लागि आफ्नो दाबी प्रस्तुत गर्दैछिन् ।
महिलाको बाहुल्य रहेको इटहरीका व्यावसायिक जमातलाई समेटेर लैजाने योजनामा रहेकी इटहरीकी छोरी आफू उवासंघमा आएपछि नै महिलाको संख्या बढाउने प्रस्ताव पारित गराएर दुई जना महिला अनिवार्य हुने व्यवस्था गराउन सफल बनेकी थिइन् । त्यसो त आफू अध्यक्षमा निर्वाचित भए संघमा महिलाको कोटालाई अझै बढाएर लैजाने गायत्रीको भनाइ छ । हुन त चुनावको बेला मीठामीठा कुरा गर्नेहरु आजसम्म जति बोलेपनि बोले जति नगरेको तितो यथार्थ गायत्रीकै सामु छर्लङ्गँ छ । तर आफूसँग ठूला र गर्न नसक्ने एजेण्डा नभएको गायत्रीले हामीसँगको बसाइमा स्पष्ट पारिन् ।
इटहरीमा उवा संघको नेतृत्वले व्यावसायिक तालिम दिनुका साथै व्यवसायीलाई समस्या परेको बेलामा उपस्थित हुन सक्ने, नगरपालिकाबाट लिइने व्यवासायी कर न्यूनीकरणका लागि पहल गर्ने अनि व्यवसायीको हकहितको लागि ३ वर्ष सेवक भएर काम गर्न सक्ने क्षमताको हुनुपर्छ । त्यसो त उद्योग वाणिज्य संघको आम्दानीका स्रोतहरु बढाउने, स्वरोजगार बन्नका लागि प्रेरणादायी तालिम सञ्चालन गरी व्यवसायी बन्न प्रेरित गर्ने व्यक्ति नेतृत्वको लागि चाहिन्छ । यी कुरामा आफू पूर्ण भएको भण्डारीको भनाइ छ ।
संस्थाकी सबैभन्दा पुरानो सदस्यसमेत रहेकी गायत्री अहिलेसम्म आफूले लिएको अनुभवलाई उपयाोग गर्न पनि आफ्नो उद्योग वाणिज्य संघको अध्यक्षमा दाबी रहेको बताउँछिन् ।
एउटा सानो कोठाबाट थोरै लगानीमा सुरु गरेको व्यावसायले अहिलेको उचाइसम्म ल्याउँदा परेका आफ्ना समस्याहरु अबका व्यवसायीलाई नपरुन् भन्ने कुरामा चिन्तित भण्डारी व्यवसायीको अनुभव र समस्याको बारेमा जानकार रहेकोले पनि ३० वर्ष पुरुष नेतृत्वले चलाएको उद्योग वाणिज्य संघको पहिलो महिला अध्यक्ष बन्ने दौडमा छिन् ।
आफ्नो अनुभव र अघिल्ला कार्यकालमा आफूले गरेका कामको मूल्याङ्कन गर्दै अबको अध्यक्ष बन्नमा सबैले विश्वास गर्ने उनको भनाइ थियो । हालसम्म आफ्नो जिम्मेदारी इमान्दारीका साथ निर्वाह गरिरहेको बताउने उनी संघलाई सबैभन्दा ठूलो आर्थिक कारोबार गर्दे कोषलाई सबैभन्दा धनी बनाएको बताउँछिन् । त्यति मात्र नभएर कोरोनाकालमा कोरोना विरुद्धको खोप व्यवसायीले प्राथमिकताका साथ पाउनुपर्छ भनेर पहल गर्ने गायत्रीले कोरोनाका कारण बिरामी परेका सदस्यलाई थाहा पाएसम्म महामारीमा जोखिम मोल्दै स्वास्थ्य अवस्था बुझ्न व्यावसायीका घरघरमा आफू पुगेको समेत स्मरण गरिन् ।
यस्ता छन् गायत्रीका एजेण्डा
गायत्रीले निर्वाचन जित्नको लागि केही एजेण्डा अगाडि सारेकी छन् । उनी महिला भएका कारणले पहिलो एजेण्डाको रुपमा उनले उवा संघमा महिला नेतृत्वलाई बढाउने बताएकी छन् । आफूले चुनाव जिते २ जना महिला सदस्य मनेनित गर्ने विधानलाई परिवर्तन गरेर महिलाको संख्या बढाउन उनी बताउँछिन् । उनको अर्को मुख्य एजेण्डाको रुपमा घरमा गृहिणीका रुपमा रहेका महिलालाई विभिन्न सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउने सोच रहेको छ । इटहरी उपमहानगरपालिकाले लिने कर कम गर्ने, व्यवसायीलाई तालिम दिने, व्यवसायीले नगरमा तिर्दै आएका करहरु छुट गराउने, सबै व्यवसायलाई समेटेर लैजानेजस्ता थुप्रै कामहरु आफू नेतृत्वमा आउन पाए गर्ने गायत्रीको प्रतिबद्धता छ ।
उनी भन्छिन्, ‘म इटहरीकी छोरी हुँ, मैले गर्नै नसक्ने धेरै ठूला कुरा गर्दिनँ । मैले जे–जे भनेँ त्यो सबै गरेर देखाउँछु, । म अध्यक्ष भए व्यवसायीलाई पीडा परेको बेलामा मलम अवश्य लगाउनेछु । नेतृत्व पाएँ भन्दैमा जथाभावी गर्ने कुरा पनि त भएन नी । संस्था र सरकारको नीति नियमको परिधिमा रहेर गर्ने थुप्रै कामहरु छन् । मेरा धेरै एजेण्डाहरु छैनन् । नेतृत्व पाएको खण्डमा व्यावसायीको दुःखको घाउमा मलम लगाउने काम अवश्य गर्नेछु ।’
यसै पनि महिला यस धर्तिलाई जन्माउने आमा हुन् । देवी पनि हुन र शक्ति पनि हुन् । महिलाले चाहे फुटाएर होइन जुटाएर लैजान सक्छन् भन्ने संकल्प हामीले भण्डारीमा देख्यौँ । हुन त व्यवसायीमा मुद्दाहरु मिलाउन कहिले समाजमा, कहिले इलाका प्रहरीमा त कहिले घरमै बसेर योगदान गर्ने यी चेली कोरोनाका कारण भएको लकडाउनको समयमा व्यवासयीलाई परेको पीडामा मलम लगाउन घरभाडा छुट गराउन घरधनीसँग पहल गर्दै थिइन् । फलस्वरुप केही घरभाडा छुटसमेत भएको थियो । त्यति मात्र नभएर आगलागी भएका व्यवसायीलाई ३ महिना सम्मको घरभाडा छुट गराउन पनि गायत्रीले नेतृत्व लिएकी थिइन् । आफूले संघको नेतृत्व गर्न पाए सबैभन्दा पहिला पहिलो बैठकबाटै बक्यौता घटाउने उनको भनाइ थियो ।
त्यसो त प्रत्येक वस्तुगत समितिसँग बसेर उनीहरुका समस्या बुझ्ने र समाधानको पहल गर्ने, प्रत्येक वस्तुगत समितिलाई संघकै भवनमा कार्यलयको व्यवस्थापन गर्ने, क्षमता भएका तर आर्थिक स्थिति कमजोर भएकालाई पनि संघमा आउने व्यवस्था मिलाउने काम उनका एजेण्डाभित्र पर्छन् । त्यति मात्र नभएर प्रत्येक वर्ष उवा संघको सदस्यता नवीकरण गराएर लैजाने, अव्यवस्थित भएको संघको कार्यालयको व्यवस्थापन गर्ने, संस्था र व्यावसायिक प्रयोजनबाहेक संस्थाको अनावश्यक खर्च नगर्ने अनि सानाठूला सबै व्यवसायीलाई समावेशी हिसाबले संघमै लैजाने गायत्रीको एजेण्डा छ । विभिन्न संघसंस्थाबाट सामाजिक क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका कारणले पनि आफूले नेतृत्व हातमा लिन सक्ने गायात्रीको विश्वास छ । विभिन्न संस्थाबाट असहाय, दुःखी, गरीब, समाजमा रहेका हरेक तह र तप्काका व्यक्तिलाई कुनै न कुनै माध्यमबाट सहयोग गरेकाले पनि व्यवसायीले उक्त सहयोगको मूल्याङ्कन गरिदिने विश्वास उनको थियो । समाज परिवर्तन अपरिहार्य छ । लामो समय पुरुषको नेतृत्वमा रहेको उद्योग वाणिज्य संघमा गायत्रीले गरेको प्रयास सफल होस् भन्ने शुभकामना ।