झापाः प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले स्वास्थ्य र शिक्षाका क्षेत्रमा राज्यले जसरी लगानी गरेको छ अब खेलकुदको क्षेत्रमा पनि त्यसरी नै लगानी आवश्यक रहेको बताएका छन् ।

काँकरभिट्टास्थित खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा जिल्ला खेलकुद विकास समिति झापाको व्यवस्थापनमा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको १ नम्बर प्रदेशस्तरीय फुटबल खेलमा अन्तर्राष्ट्रिय पदक प्राप्त खेलाडीको जुनियर खेलाडीसँगको एक दिने अन्तरक्रिया कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण गर्दै प्रदेश सदस्य मैनालीले उक्त कुरा बताएका हुन् ।

मुलुकमा तिनै तहको निर्वाचन सम्पन्न भई सरकारसमेत गठन भएकाले प्रत्येक सरकारले खेलाडीलाई उच्च मनोबलका साथ उसको कौशल प्रस्तुत गर्ने वातावरण तयार गर्नुपर्नेमा प्रदेशसभा सदस्य मैनालीले जोड दिए । एक जना खेलाडीले प्रस्तुत गरेको उसको कौशलले जीत दिलाएपछि नेपालको नाम विश्वमै चर्चित हुन्छ यसकारण पनि खेलाडी देशका गहना भएको र उनीहरूको आवश्यकता सम्बोधन गर्नु राज्यको दायित्व भएको सदस्य मैनालीले बताए ।

सदस्य मैनालीले प्रत्येक खेलाडीले राज्यलाई दिएको योगदानको कदर स्वरूप प्रत्येक स्थानीय तहले आफ्ना क्षेत्रका खेलाडीको पहिचान गरी मासिक रूपमा व्यवहार चलाउन सक्ने भत्ताको व्यवस्था गर्न जोड दिए ।

युवा तथा खेलकुद मन्त्रालयका सहसचिव अरुणप्रसाद न्यौपानेले अन्तर्राष्ट्रिय पदक प्राप्त खेलाडी र अहिलेका नयाँ पुस्ताका खेलाडीबीचको दूरी हटाउन अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताए ।

जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष शङ्कर थापाले सभापतिको आसनबाट बोल्दै अहिले पनि झापा जिल्लामा विभिन्न खेलकुदका प्रशिक्षक नरहेको बताए । कार्यक्रममा अन्तर्राष्ट्रिय पदक प्राप्त खेलाडीहरु इलामका नवयुग श्रेष्ठ र महिला खेलाडी रौतहटकी अनु लामासँग जुनियर खेलाडीले अन्तरक्रिया गरेका थिए । कार्यक्रममा पूर्वका झापा, मोरङ, सुनसरी, धनकुटा, इलाम र उदयपुरका जुनियर खेलाडी र अफिसियल गरी ४० जनाले भाग लिएका थिए ।