इटहरी: इटहरीको कचना महादेव माध्यमिक विद्यालयको कक्षा १० मा पढने किरण राजवंशीलाई कम्प्यूटर सिक्न कुनै इन्ष्टिच्युट धाउनु परेको छैन । विद्यालयमै रहेको सूचना प्रविधि प्रयोगशालाबाट व्यावहारिक अभ्यास सहितको कम्प्युटर शिक्षा लिन पाउदा किरण औधी खुशी छन् । अत्याधुनिक कम्प्युटर तथा अन्य सामग्री सहितको ल्याबमा विद्यार्थीहरुले सामूहिक प्रयोगात्मक अभ्यास गर्दै आएका छन् ।

सोही विद्यालयकी छात्रा शोभा खत्री पनि विद्यालयको प्रयोगात्मक शिक्षाबाट सन्तुष्ट छिन् । विद्यालयले कम्प्युटर प्रविधिको सैद्धान्तिकसँगै प्रयोगात्मक ज्ञान प्रदान गरी आफूहरुको व्यावहारिक क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान गरेको शोभाको भनाइ छ । विद्यालयले आफ्नै पहलमा स्थापना गरेको प्रयोगशालालाई थप व्यवस्थित गर्नका लागि संघीय सरकारको ससर्त अनुदानबाट इटहरी उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा ६ लाख ५० हजार रुपैयाँ उपलब्ध गराएपछि प्रयोगशालाको भौतिक अवस्था सुधारमा टेवा पुगेको प्रधानाध्यापक हरिशंकर घिमिरेले बताए ।

lab1

 

कचना महादेव माध्यमिक विद्यालयमा मात्र होइन इटहरी उपमहानगरपालिकाको सहयोगमा अहिलेसम्म इटहरीका ६ ओटा विद्यालयमा सूचना प्रविधि प्रयोगशाला सञ्चालित छन् । ६ ओटामध्ये चार ओटा पूर्ण रुपमा सञ्चालित छन् भने दुई ओटा प्रयोगशाला सञ्चालनको अन्तिम तयारीमा रहेका छन् । सूचना प्रविधि प्रयोगशाला स्थापना सँगसँगै विद्यालयमा पुस्तकालय र विज्ञान प्रयोगशाला स्थापनामा पनि उपमहानगरले सहयोग गर्दै आएको छ । आर्थिक वर्ष २०७५÷०७६ देखि चालु आर्थिक वर्ष २०७७÷०७८ सम्म तीन वर्षको अवधिमा इटहरीका नौ ओटा विद्यालयमा उपमहानगरको सहयोगमा पुस्तकालय स्थापना गरिएको छ । जसमध्ये ६ ओटा पूर्ण रुपमा सञ्चालनमा रहँदा तीन ओटामा भने व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । यसैगरी ६ ओटा विद्यालयमा उपमहानगरपालिकाको सहयोगमा सञ्चालित विज्ञान प्रयोगशालामध्ये चार ओटा पूर्ण रुपमा सञ्चालनमा आइसकेको छ भने दुई ओटामा व्यवस्थापनका सामान्य काम बाँकी रहेको छ । यसका साथै जनता माविमा निर्माण गर्ने भनिएको विज्ञान प्रयोगशाला तथा पुस्तकालयसमेत सञ्चालनको अन्तिम तयारीमा रहेको इटहरी उपमहानगरपालिकाको शिक्षा महाशाखाको योजना तथा कार्यक्रम शाखा अधिकृत फाल्गुनीप्रसाद काफ्लेले जानकारी दिए ।

lab2.

जीवनोपयोगी शिक्षा उपमहानगरको लक्ष्य
इटहरी उपमहानगरपालिकाले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै विद्यार्थीलाई जीवनोपयोगी शिक्षा प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ । सोही लक्ष्य अनुरुप अनुरुप विद्यालयको भौतिक संरचना निर्माणमा अग्रसरता देखाएको हो । चालु आर्थिक बर्ष सहित अघिल्ला तीन आर्थिक वर्षमा १९ ओटा विद्यालयलाई ६ लाख ५० हजार रुपैयाँका दरले बजेट उपलब्ध गराई भौतिक संरचना सुधार सुरु गरिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसमेत रहेका शिक्षा शाखा प्रमुख सूर्यप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा तीन ओटा विद्यालयले पुस्तकालय स्थापनाका लागि प्रतिविद्यालय ६ लाख ७५ हजार रुपैयाँका दरले अनुदान दिइएको छ । त्यस्तै सोही वर्ष दुई ओटा विद्यालयमा विज्ञान प्रयोगशाला र थप दुई ओटा विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापनाका लागि सरकारले सोही रकम बराबरको अनुदान दिएको थियो ।

आर्थिक वर्ष २०७५÷०७६ मा पुस्तकालय स्थापनाका लागि अनुदान पाउने विद्यालयहरुमा इटहरी १५ स्थित शम्भुनाथ मावि, इटहरी १९ स्थित जब्दी मावि र इटहरी १६ स्थित सरस्वति जब्दी मावि रहेका छन् । यसैगरी, सोही आर्थिक वर्षमा विज्ञान प्रयोगशाला निर्माणका लागि इटहरी ५ स्थित ज्योति मावि र इटहरी ३ स्थित सरस्वति माविलाई ६ लाख ५० हजार रुपैयाँका दरले अनुदान दिइएको छ । यसैगरी, आर्थिक वर्ष २०७५÷०७६ मै इटहरी ६ स्थित कविर मावि र इटहरी १२, खनारस्थित शारदा माविले सोही रकम बराबरको अनुदानबाट सूचना प्रविधि प्रयोगशाला (आईसीटी ल्याब) निर्माण गरेका छन् । २०७५÷०७६ मा इटहरी क्षेत्रका कुल सात विद्यालयले भौतिक संरचना निर्माणका लागि अनुदान लिएको उपमहानगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

library4

यसैगरी, आर्थिक वर्ष २०७६÷०७७ मा उपमहानगर क्षेत्रका सात ओटा विद्यालयले विद्यालयको भौतिक प्रगतिका लागि अनुदान पाएका छन् । प्रतिविद्यालय ६ लाख ५० हजार रुपैयाँका दरले वितरित अनुदानबाट सो आर्थिक वर्षमा इटहरी २ स्थित महेन्द्र मावि, इटहरी ४ स्थित कचना महादेव मावि र इटहरी १७ स्थित जनजागृति माविले पुस्तकालयको भौतिक अवस्थामा सुधार गरेका छन् । यसैगरी, सोही वर्ष वितरित अनुदानबाट सरस्वति सदन र जनता माविमा विज्ञान प्रयोगशाला तथा पञ्चायत आधारभूत विद्यालय र ज्ञानोदय आविमा सूचना प्रविधि प्रयोगशाला (आईसीटी ल्याब) स्थापना भएका छन् । यसैगरी, चालु आर्थिक वर्ष २०७७÷०७८ मा उपमहानगर क्षेत्रभित्रका आठ ओटा विद्यालयलहरुले संघीय सरकारको ससर्त अनुदानको रकम पाई भौतिक संरचना सुधारको काम अगाडि बढाएका छन् । चालु आर्थिक वर्षमा अनुदान पाएकामध्ये इटहरी १६ स्थित पकली मावि, इटहरी १४ स्थित पार्वति मावि र इटहरी ३ स्थित सरस्वति माविले पुस्तकालय निर्माणको काम अगाडि बढाएका छन् । इटहरी ७ स्थित लक्ष्मी आवि र इटहरी १ स्थित राष्ट्रिय माविमा विज्ञान प्रयोगशाला स्थापनाको काम अगाडि बढाइएको छ । यस्तै, सोही अनुदानबाट इटहरी २० स्थित जनसहयोग मावि र इटहरी ४ स्थित कचना महादेव माविमा सूचना प्रविधि प्रयोगशाला स्थापनाको काम भइरहेको छ । यसैगरी, इटहरी ९ स्थित जनता माविले आफूलाई प्राप्त अनुदान रकम पुस्तकालय तथा विज्ञान प्रयोगशाला व्यवस्थापनमा खर्च गर्ने भएको छ ।

library3

उपमहानगरपालिकाको सहयोगवाट विद्यालयहरु उत्साहित
कचना महादेव माध्यमिक विद्यालयका प्रधानाध्यापक हरीशंकर घिमिरे तिव्र गतिमा भइरहेको निर्माण कार्यमा कोरोना महामारीका कारण सरकारले जारी गरेको निषेधाज्ञा बाधक बनेको बताउछन । उनले विद्यालयले असार मसान्तभित्र ल्याबको सम्पूर्ण काम सम्पन्न गर्ने जानकारी दिए । सरकारले निर्धारण गरेका १४ ओटा सूचकहरुका आधारमा काम अगाडि बढेको बताउँदै निर्माण सम्पन्न भइसक्दा सम्पूर्ण सूचकहरुमा आफ्नो विद्यालयलाई अब्बल प्रमाणित गर्ने दाबी गरे । प्रधानाध्यापक घिमिरेले ल्याब स्थापना भएपछि विद्यार्थीहरु सूचना प्रविधिसँग प्रत्यक्ष जोडिने र उनीहरुको बौद्धिक क्षमतामा गुणात्मक सुधार आउने विश्वास व्यक्त गरे । सरकारले पूर्णतया डिजिटल प्रणालीबाट शिक्षा प्रदान गर्नुपर्ने आवश्यकतामा उनको जोड थियो । यस्तै प्रकृतिको अनुदानबाट आफ्नो विद्यालयले यसअघि नै पुस्तकालयसमेत व्यवस्थित रुपमा सञ्चालनमा ल्याइसकेको दृष्टान्त दिँदै प्रअ घिमिरेले विद्यालयले बजेटको पूर्ण सदुपयोग गरी विद्यार्थीलाई लाभ प्रदान गर्ने उल्लेख गरे ।

library2.

यसैगरी, पुस्तकालय स्थापनाका लागि अनुदान पाएको इटहरी १६ स्थित पकली माविका प्रधानाध्यापक यज्ञप्रसाद ढकालले पाँच सदस्यीय माध्यमिक विद्यालय पुस्तकालय स्थापना समिति गठन गरी पुस्तकालय स्थापनाको काम अगाडि बढाइएको जानकारी दिए । समितिले पुस्तक पढ्ने कोठा (रिडिङ रुम) सहितको पुस्तकालय स्थापनाका लागि पुस्तक खरिद गर्न बोलपत्र आह्वान गरिएको जानकारी दिए । विनियोजित बजेटको २५ प्रतिशत व्यवस्थापन तथा ७५ प्रतिशत पुस्तक खरिदमा खर्च गर्नुपर्ने प्रावधान रहेको उल्लेख गर्दै प्रधानाध्यापक ढकालले आन्तरिक व्यवस्थापन लगभग सम्पन्न गरी पुस्तक खरिदका लागि सूचना प्रकाशनसमेत गरिसकिएकाले निर्धारित समयभित्रै पुस्तकालय सञ्चालनमा आउने विश्वास व्यक्त गरे । पुस्तकालयमा कक्षा १ देखि ८ तथा कक्षा ९ देखि १२ र सोभन्दा माथिल्लो तहका पाठकहरुले पढ्न सक्ने ज्ञानवद्र्धक पुस्तकहरु संग्रहित गरी राखिने ढकालले उल्लेख गरे । पुस्तकालय स्थापनापछि विद्यार्थी तथा शिक्षकहरुमा पठन सँस्कृतिको विकास भई बौद्धिकतामा अभिवृद्धि हुने उनको भनाइ छ । प्रअ ढकालले सरकारले पुस्तकालयलाई प्रविधिसँग जोडेर राम्रो प्रतिफल लिनुपर्ने सुझाव दिए । यसैगरी, प्रदेश सरकारको १० लाख रुपैयाँ अनुदान र आन्तरिक स्रोतबाट एक लाख ६७ हजार रुपैयाँ जुटाई गत वर्ष विद्यालयमा अत्याधुनिक विज्ञान प्रयोगशालासमेत सञ्चालनमा ल्याइएको प्रअ ढकालले जानकारी दिए । यसका साथै शिक्षा मन्त्रालयको समन्वयमा नेपाल दुरसञ्चार प्राधिकरणले यन्त्र उपकरण अनुदान दिई विद्यालयमा सूचना प्रविधि प्रयोगशालासमेत निर्माण गरिदिएको उनले बताए । सूचना प्रविधि प्रयोगशालाका लागि आवश्यक फर्निचर लगायतका भौतिक संरचना भने आन्तरिक स्रोतबाटै जुटाइएको ढकालको भनाइ छ । सूचना प्रविधि प्रयोगशालामा विद्यार्थीहरु श्रव्यदृश्य माध्यमबाट सिकाइ प्रकृयामा संलग्न भई ज्ञान आदानप्रदान गर्न पाएकोमा उनले खुसी व्यक्त गरे ।

pakali ict1 pakali science lab1 pakali science lab2.

सूचना प्रविधि प्रयोगशालामा सुधारको आवश्यकता
परियोजना सञ्चालित विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले पनि विद्यालयमा सञ्चालित सूचना प्रविधि प्रयोगशालामा सुधारको आवश्यकता औँल्याएका छन् । हाल सञ्चालनमा रहेको प्रयोगशालामा रहेका कम्प्युटरहरु पुरानो प्रविधिको रहेको भन्दै नयाँ प्रविधिका कम्प्युटर तथा सफ्टवेयरहरु प्रयोगमा ल्याउनुपर्ने उनीहरुको माग छ । यसैगरी, प्रयोगशालामा कम्प्युटर भएपनि इन्टरनेटको सुविधा नहुँदा सिकाइ प्रभावित हुने गरेको भन्दै उनीहरुले इन्टरनेट सेवाको पहुँच विस्तार गरिनुपर्ने सुझावसमेत दिएका छन् । यसैगरी, विद्यालयले निजी स्रोतबाट प्रयोगशाला सञ्चालन गरिएको बहानामा विद्यार्थीसँग वार्षिक ६ सय रुपैयाँका दरले कम्प्युटर शिक्षा शुल्क असुलिरहेकोमा विद्यार्थीहरुको असन्तुष्टि छ । उनीहरुले विद्यार्थीहरुले कम्प्युटर शिक्षा निःशुल्क दिनुपर्ने मागसमेत गरेका छन् । इटहरी उपमहानगरपालिकाले गुणस्तरीय शिक्षाका प्रत्याभूतिका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको जनाउँदै यो परियोजना पनि त्यसकै अङ्ग भएको जानकारी दिएको छ । उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले आफूहरु निर्वाचित भएको पहिलो वर्ष नै शिक्षा ऐन निर्माण गरेको बताइन् । सोही ऐनका आधारमा तयार भएको शिक्षा सुधार कार्ययोजनामा हरेक विद्यालयमा पुस्तकालय र सूचना प्रविधि प्रयोगशाला स्थापनाको नीति समेटिएको जानकारी दिइन । उनले क्रमिक रुपमा नगरका सबै विद्यालयमा यो कार्यक्रम लागु गरिने प्रतिबद्धता व्यक्त गरिन् ।

(यो सामग्री इटहरी उपमहानगरपालिकाको सहकार्यमा नेपाल पत्रकार महासंघ सुनसरीद्वारा सञ्चालित लेखनवृत्ति कार्यक्रममा सहभागिताका लागि तयार पारिएको हो ।)