सङ्खुवासभाः ‘सत्य युगको कुरो । एक समय बलि राजा सिकिस्त बिरामी परेछन् रे । उपचारका अनेक विधि गर्दा पनि राजालाई ठीक भएनछ । जनता साह्रै चिन्तित भए । उनीहरूले राजाको स्वास्थ्यलाभको कामना गर्दै देवीदेउता भाके, पूजा गरे । नभन्दै केही समयपछि राजालाई ठीक पनि भयो ।

राजालाई सन्चो भएको थाहा पाएपछि दरबारमा जनताहरू भीड लागे । राजाले हुकुम दिए, ‘तिमीहरूको आशीर्वादले म बाँचे, यो खबर सबैलाई सुनाइदिनू ।’ उपस्थित भएकाहरू यो शुभखबर लिएर नाचगान गर्दै घरघर पुगे । राज्यभरि दीपावली भयो ।’

याक्खा समुदायमा तिहार र देउसी–भैलोको उत्पत्तिबारे यो लोकोक्ति प्रचलित छ । भैलेनीहरू अझै गाउँछन्, ‘हामी त्यसै आएनांै, बलिराजाले पठा’को, औंसीको दिन गाईतिहार भैलो ।’ देउसेहरूको देउशिरेले पनि यस्तै बेहोरा बोल्छ ।

दशैं बहिष्कार, तिहारमा रमाइलो
सङ्खुवासभा जिल्लालाई मूलभूमि मान्ने आदिवासी याक्खा जातिमा तिहारको महत्व विशेष छ । परापूर्वकालदेखि तिहार मान्दै आएका याक्खाहरू अहिले पनि उत्तिकै उल्लासका साथ तिहार मनाउँछन् । जबकि नेपालीहरूको महान् चाड भनिने दशैं भने प्रायः सुनसान हुने गर्दछ याक्खा समुदायमा । २०५० सालताका मार हान्ने र टीका लगाउने प्रचलन छोडिएसँगै याक्खा समुदायमा दशैंमा आफन्त भेटघाट गर्ने क्रमसमेत घट्दै गएको याख्खा संस्कार र संस्कृतिका खोजकर्ता मागमान जिमीले बताए ।

याक्खा समाजमा तिहारकै अवसरमा ‘तेन्ताम्मा’ जस्ता मौलिक पूजाहरूसमेत हुने गर्दछन् । अन्नबालीमा सह र गाउँमा सुख शान्ति र समृद्धिको कामना गर्दै यस्तो पूजा याक्खा समुदायमा सम्पन्न हुन्छ । याक्खा जातिले आफ्नो मौलिक पहिचान मान्ने ‘डोकेनीनाच’ ले पनि यो समुदायमा तिहारको रौनक थप बढाउँछ । महिलाहरू मात्र सहभागी हुने यो नाच लक्ष्मीपूजाको रात घर–घर डुलेर नाच्ने गरिन्छ । तिहारमा घरको काम बिर्सदै पुरुषहरू आफूमात्र जुवातासमा भुलेपछि यस विकृतिविरुद्ध महिलाले विद्रोह गर्ने क्रममा डोकेनीनाचको उत्पत्ति भएको किंवदन्ती छ ।

यसरी समाजको पहिचानको रूपमा रहेको संस्कार र संस्कृतिको इतिहास नै तिहारसँग गाँसिएको भएर पनि हुन सक्छ याक्खा समाजमा तिहारको रौनकमा कमी आएको छैन । यमपञ्चकको पहिलो दिन कागको पूजादेखि पाँचौं दिन भाइटीकासम्म गरिने सबै रीतिमा परिवर्तन भएको छैन, एकनाश छ । अझ लक्ष्मीपूजाको साँझदेखि हुने देउसी, भैलो र डोकेनी जस्ता नाचगानले गाउँघरमा तिहारको रमझम थप उल्लासपूर्ण हुने गर्छ । परदेश गएकाहरूसमेत तिहारकै बेला घर फर्कने गरेका छन् । जसले गर्दा तिहारको माहौल अझ पर्वमय हुन्छ ।

जिम्मावाल प्रथा अन्त्यसँगै दशैं मान्न छाडियो
देशकै महान् र विशेष भनिएको दशैं सुनसान हुँदै जाँदा तिहारको रौनकता भने कायमै किन छ ? खोजकर्ता जिमी यसबारे दुई तर्क अघि सार्छन् । भन्छन्, ‘याक्खा समाजमा दशैंको नाइके तत्कालीन जिम्मावालहरू हुन् । राज्यद्वारा केही प्रशासनिक अधिकारसमेत पाएका जिम्मावालहरूको अगुवाइमा दशैैं विधिवत हुन्थ्यो । जब त्यो जिम्मावाल प्रथाको अन्त्य भयो, यससँगै दशैंको महत्व र रौनक पनि हराउँदै गएको हो ।’ हिन्दू चाड भनिने गरेकाले पनि याक्खालगायत किरात समुदायमा दशैंप्रति वितृष्णा बढ्दै गएको र बहिष्कारसमेत हुन थालेको उनको भनाइ छ ।

‘तिहार भने जिम्मावाल र रैती (जनता) नभनी जनस्तरबाटै मनाइयो । यसमा धार्मिक आस्था गाँसिएन । अझ विशेष, तिहारसँगै सम्बन्धित संस्कृतिहरू भएकाले पनि याक्खा समाजमा तिहारको लोकप्रियतामा कमी नआएको हो’ जिमीको तर्क छ ।
याक्खा समाजमा तिहारको महत्व र उल्लास यथावत रहेको चलचित्रकर्मी देउकृष्ण देवान बताउँछन् । ‘दशैंमा फुर्सद हुने मात्र हो । देउसी–भैलो, डोकेनी र भाइटीकाले तिहार भने चाडपर्वझैं लाग्छ । चेलीबेटीको हातबाट निधारमा टीका र गलामा सयपत्री, मखमलीको माला लगाउँदा आत्मैदेखि रोमाञ्चित भइन्छ अनि रमाइलो लाग्छ,’ उनले तिहारको रौनकता वर्णन गरे ।

‘याक्खा जातिको सामाजिक संस्था किरात याक्खा छुम्माका सहमहासचिव सोनाम याक्खाको अनुभवमा याक्खा समुदायले दशैं मान्न छाडे पनि तिहार भने धुमधामका साथ रमाइलो गरेर मनाउने गरेका छन् । केही गाउँहरूमा सेतो टीका लगाउनेबाहेक याक्खाहरूले दशैंको विधि छाडिसकेका छन् । तिहारमा भने माइतीहरू पनि भाइटीका लगाउन टाढा रहेका चेलीकहाँ पुग्ने गर्छन् ।

टोल–टोलमा लिङ्गेपिङ, पाँचै दिन हुने तिहारको विधिवत पूजा, रातभरको देउसीभैलो र नाचगानले पनि याक्खा समाजमा तिहारको महत्व कायमै रहेको सङ्केत गर्दछ । अर्थात् तिहारको उत्पत्तिबारे प्रचलित किंवदन्तीअनुसार, याक्खा समाजमा ‘बलि राजाको हुकुम’ अझै चल्दैछ ।